Logo

#यात्रा साहित्य #मनको लडडु घ्यु सङ्ग खादै गर्दा #बाहिङ मुस्कान


यात्रा डायरी
[ मनको लड्डु घ्यूसँग खाँदै गर्दा 😜 ]

#बाहिङ्ग मुस्कान

हावाले फर्रर पार्दै उनको कपाल फर्फराउँदै छ । कपालका टुप्पाहरुले च्वस्सच्वस्स घोच्दै जिस्काउँछन् मेरो मुलायम गालालाई । भित्रभित्रै आनन्द मान्छ मोरो यो गाला पनि । गालामा हातलाई खाँबा बनाएर अड्याइएको त्यो सुन्दर टाउको कुनै सोचमग्न दार्शनिकको भन्दा कुनै एंगलबाट हेर्दा पनि कम छैन । देखो इन आँखोंमे ये सुरत हे किस्की, एकनजरतो देखो कमसेकम ….गीत बज्दैछ उता । म बबुरोको बेकामे टाउको घरीघरी त्यतै आफै फर्किदिन्छ, मानौ त्यता कुनै चुम्बक छ अनि मेरो घाँटीमा थपक्क बसेको यो डल्लो मेरो टाउको नभएर कुनै फलामको डल्लो हो र त्यसलाई उतै तानिनमा निकै रमाइलो भईरहेको छ ।

‘के हेर्नुभएको त्यसरी?’

उनको अनायसै आएको प्रश्नले म झसंग हुन्छु । साला यो खोपिल्टाका दुई डल्लाहरु पनि ढक्कन नै बन्द नगरी उतै एकोहोरिदाँ रहेछन् । यहि एक डल्लो खप्पर मात्र उता तानिदै छ भन्ने सोच्दै थिए म, त्यसको खोपा भित्र रहेका अरु दुईवटा डल्लाहरु पनि पो उतै एकोहोरिन थालेका रहेछन् । शायद निकै मीठो रैछ त्यो मुहारको मोहनी स्वाद ।

बजिरहेको गीत सकियो, सन्नाटा छायो केहिबेर, गाडी गुडेको आवाज भन्दा अरु केही छैन । तर फेरी बज्यो अर्को गीत जग घुमेया थारे जैसा ना कोही…..।

‘हो र?’ आफ्नै मनलाई सोध्छु ।

उत्तर दिन्छ- ‘मलाई के थाहा’ ।

अबभने म त्यहि आफूलाई फलाम सम्झने खप्परलाई सोध्छु । सम्झन थाल्छ भूतकाललाई । आउँछन् आँखामा एकाएक परीहरु । जोख्छु एक अर्कालाई मनको तुलोमा राखेर । बिस्तारै फालिदै जान्छन् सुन्दरीहरु सम्झनाको लिस्टबाट। बाँकि हुन्छन् दुईचार मात्र । बनाउँछु लिस्ट । चढाउँछु नम्बर । पढ्छु लिस्ट । खोई त नम्बर वान त खाली छ त । यो सिट उनकै लागि त होला नी खाली ? तर खोई उनको नाम अझै थाहै त छैन मलाई ।

‘तपाई ‘नम्बर वान’मा पर्नुभयो ।’

साला खप्पर भित्रको अर्को पूर्जा थुतुनो पनि सुरु भो । आवाज बाहिरै निस्केछ ।

‘के???’

मानौ विश्वको आठौं आश्चर्यवाला उत्तरको आशा राख्ने प्रश्न हो यो ‘के???’ ।

सच्याउँन खोज्छु । ‘मेरो लिस्टमा एक नम्बरमा पर्नुभयो तपाई’ ।

यति हतारिएर म मेरो कुरा सच्याउँछु कि मानौ ऊनी कुनै मेडिकल स्टुडेन्ट हुन् अनि मेरो ‘नम्बर वान’ शब्दको अर्थ उल्टो लगाईन् ।

‘के??’

यो अलि कम आश्चर्यवाला ‘के??’

यो थुतुनो भन्ने जिनिस आफै सक्रिय भईदिनाले म निकै अप्ठेरोमा परेको छु आज । तर यो के ? यस्तो अप्ठेरोमा पनि रमाईलै पो लागिरा’छ । बचाई पनि रा’छ त्यही आपतमा पार्ने थुतुनो आफैनै । म चुपचाप बस्छु ।

निकै तातो छ हावा । एक त कोसी किनारको सडक, दोश्रो गर्मी महिना त्यसमाथी भरी प्यासेन्जर । जिउमा हल्का पसिना आइरा’छ । अनि छ नि त्यो, अण्डरवेयर टाँसिएर निकै दुखिरारै’छ यो सुरुवाल/पाइन्ट अडाउनलाई प्रकृतिले बनाएको डाँडो यानी चाक । ‘मुला, त्यो न्यूरोडको पसले पनि फटाहानै रै’छ । अस्ति भर्खर न हो, यो जस्तो गर्मीमा लगाउँदा पनि नटाँसिने राम्रो कपडाको छ भनेर एउटैलाई चार/चार सय ठटाएको । छ्या ! कति फटाहा नै फटाहा भएको संसार हौ यो ? भगवानले पनि यस्ता फटाहाहरुलाई त उठाउनु नी सब ।’ मनमनै भन्छु म ।

‘फटाहा जति सबै उठायो भने यो संसारमा कतिजना बाँकी रहन्छ, साला तँ नै पनि त्यहि ग्रुपमा पर्छस् ।’

कसले बोल्यो यि शब्दहरु मेरो कानमा ? ए कानमा नहुन सक्छ किनकी कानमा त जस्टिन विवर कराउँदै छ ……सरी, ……सरी ! मानौं म नै हुँ उसको एक्स गर्लफ्रेण्ड । मनलाई नै गरेको प्रश्नको उत्तर मनले नै दिएको हुनुपर्छ शायद ।

होस् छाडिदिउँ यो कुरा, तर निकै अप्ठ्यारो भो बिझाएर । हात आफै तान्न पुगेछ । गम लगाएर टासेजस्तै भएछ अण्डरवेयर ।

‘कस्तो मुला..’, आज निकै सक्रिय छ यो थुथुनो । भन्छन् -“थुतुनो र मुतुनो सम्हालेर राख्नुपर्छ” । तर आज मलाई भने त्यही एउटा थुथुनो र अर्को मुथुनो छोप्ने कुराले नै दुख दिईराछन्, हरे ! हुनत संसारमा यहि दुई कुराहरुले न हो दु:ख दिने मान्छेलाई ।

मुसुमुसु हाँसिराछिन् ऊनी । अण्डरवेयर तानेको देखेर नै त होला? कि मेरो गाली सुनेर हो कुन्नी ? मैले मनमनै कुरा गरेको त्यो थुतुनो र मुतुनोको कुरा थाहा पाएर त पक्कै होइन हगी ?

‘के भयो?’ मेरो प्रश्न ।

‘मेरो प्रश्नको उत्तर नै दिनुभएको छैन, म किन दिऊँ तपाईको प्रश्नको उत्तर ?’

निकै चलाख पनि रै’छे मोरी । पढ्दी होली साहित्यका किताबहरु । त्यसैले त घुमाउरो उत्तर दिन खप्पिस रै’छे । नत्र अक्सर राम्री केटीहरु त आफ्नो रुप ऐनामा हेरेर मक्ख पर्दैमा बिताउँछन् आधी जिन्दगी । कृपाय तपाईहरु कसैले यो पढ्नुभो अनि राम्री पनि हुनुहुन्छ भने मलाई गाली नगर्नुहोला किनकी यो मेरो भनाई होइन कलेज पढ्दाताका केटाहरुको भनाई हो ।

खैरो खैरो कपाल तिम्रो…….। ड्राईभर गीत बजाउँदैछ । ऊनको मेरो गाला जिस्काउने कपालहरु पनि त खैरा नै छन् नि । कतै मेरो मनकै गीत त बजाईराछैनन् गुरुजी ? उहिले कसैले मलाई सुनाएको थियो, साइबाबाको छेउमा बसेर जे मनमा सोच्यो त्यही पुर्याइदिन्छन् रे केही पनि नसोधी । यसो एकपटक राम्ररी हेर्छु । अहँ, मिल्दैन केही पनि साइबाबासँग हाम्रो गुरुजीको ।

‘ए अघिको कुरा ? मेरो सुन्दरीहरुको लिस्टको एक नम्बरमा तपाई पर्नुभयो भनेको नी ।’

‘हजुर?’

‘मैले भेटेर बोलेको केटीहरुमध्ये तपाई सबैभन्दा सुन्दर हुनुहुन्छ । भगवानले निकै लामो समय मिहेनत गरेर बनाएको रै’छ तपाईलाई ।’

‘हा.. हा.. ! मलाई बनाउन त आमाबुबाले पो निकै लामो समय मेहेनत गरेको रे त।’

अरे वाह ! लाज पनि पो नमान्दिरैछे मोरी त ।

‘लामो भन्नाले कति समय लगाएर नी?’

‘७/८ बर्ष ।’

‘हजुर?’

‘ए आमाबुबाले बिहे गरेको सात आठ नर्षपछि मात्र म जन्मिएको रे । बिहे गर्नुभएको त्यति धेरै समयसम्म बच्चा नहुँदा उहाँहरुले अब बच्चा नहुनेरै’छ भन्ने सोचिसक्नुभाथ्यो रे । तर त्यसपछि म जन्मिएँ रे ।’

‘मेहेनत त बेस्सरी नै पो गर्नुभएको रैछ नि ।’

नहाँसौं भन्दाभन्दै अनेकौं कम्पनीको दन्तमन्जनले अनगिन्ती पटक घोट्दा पनि सेतो बनाउन नसकेको मेरो दाँत भन्ने अर्को जिनिस निस्किन भ्याईहालेछन् । मन चसक्कै भो, कतै रिसाईहाल्ने पो हो कि ? तर उनि रिसाइनन् ।

‘त्यो त मलाई के थाहा जन्मिनुभन्दा अगाडीको कुरा ।’

एकपटक निकै ठूलै स्वरले हाँसेछौं हामी । यताउता अरु सिटका सबै खप्परहरु हामीतिर फर्किएपछि मात्र पो थाहा भो । मोरी निकै मस्किँदै गफ गरिराछिन् मसँग । मेरो तारिफले राम्ररी काम गरेको हुँदो हो शायद ।

‘अनि अर्को एउटा कुरा नि?’

‘हजुर ?’

‘त्यत्रो मेहेनत परेको छोरीको नाम पनि त राखिदिए होलान् नी बुढाबुढीले?’ होइन म बढि नै पो अगाडी बढें कि शब्द प्रयोगमा ?

‘राखेछन् नी बुढाले ड्याम्मै; बसन्ती । खासै मन पर्दैन आजभोली मलाई बुढाको च्वाइस । मेरो नाम किन बसन्ती भयो भन्ने चाहीँ निकै पछिमात्र मैले आफैले पत्ता लगा’को । बुढाले जतिपटक टिभीमा सोले दिएपनि आँखै झिमिक्क नगरी हेरेको देखेर।’

यहाँ पनि मैले गल्ती गरेको ठहर लागेन । अनि निश्चितै छ गल्ति नभएसी डराउनु पनि परेन ।

‘अनि तपाईको?’

‘के हो जस्तो लाग्छ तपाईलाई?’

‘मलाई कसरी थाहा हुन्छ नी ?’

‘मुस्कान ।’

‘छि ! कस्तो केटीको जस्तो नाम?’

‘त्यो त साथीहरुले राखिदेको । के गर्नु हाम्रो बा बुढा शोले हेर्दैनथे, नत्र त गब्बर राख्थे होला नी। हा ..हा..’

‘हा हा.. जय र बिरु पनि त हुन सक्थ्यो नी ?’

‘त्यो चाही आमाले हेर्नुभ’को भए हुँदो हो ।’

फेरी निकै ठूलो हाँसो । फेरी सबैको घुराई । कुनै खप्पर मनमनै भन्दो हो-‘यो केटी पनि चरित्रहिन रैछे भर्खरै भेटेको केटासँग यसरी मस्किदैं छे’ । समाजले त्यही जो सिकाएको छ हामीलाई । कुनै खप्पर भन्दो हो -‘सोमत् बिनाका ठिटा-ठिटीहरु, ठूलाठूला स्वरले हाँस्छन् ‘। आफू एक्लो पर्नुको पिडा जो छ बिचारा त्यो खप्परलाई ।

‘अनि तपाई के गर्नुहुन्छ काठमाडौंमा?’ विषयन्तर गर्नु जरुरी सोच्छ मेरो खप्पर । अनि खप्परको आदेश खुरुखुरु मान्छ त्यही अघिकै थुतुनो ।

‘उत्तर कण्ठ गर्ने प्रयस ।’

‘हजुर?’

‘कलेज पढ्छु । सरहरुले यो प्रश्न जाँचमा आउने सम्भावना धेरै छ भन्दै उत्तर कण्ठ गर्न लगाउनुहुन्छ । म त्यहि काम गर्छु । तर त्यो किन गरिरहेको छु आफैलाई थाहा छैन यसो सोचि हेर्दा ।’

हो त हामीले पढेको त्यति धेरै किताब अनि हामीलाई पढाउने ति सबै शिक्षकहरुले हामीलाई सिकाउने भनेको जाँचमा आउने र आउने सम्भावना भएको प्रश्नको उत्तर न हो । त्यसले जिन्दगीमा पार्ने प्रभाव र फाइदाहरुको त वास्तै पो नभई कलेज सकिन्छ ।

‘ए ए ।’

‘अनि तपाई नी?’

‘म अजम्बरी बुटी खोज्दैछु ।’

‘अजम्बरी बुटी त सत्ययूगमा पो पाईन्थ्यो रे त । कलियूगमा कसले पाएको छ र त्यो बुटी?’

‘पाएका छन् नि अनगिन्ती मान्छेहरुले ।’

‘कसरी?’

‘अजम्बरी भनेको के नी?’

‘कहिल्यै नमर्नु ।’

‘त्यही हो भने त अनगिन्ती नै छन् नी ।’

‘जस्तो की?’

‘भिन्चीको मोनालिसा, शेक्सपियरको रोमियो जुलियट, देवकोटाको मुनामदन,… आदिआदि ।’

‘ए ए त्यस्तो पो ? भनेपछि तपाई पनि त्यस्तै बन्ने प्रयसमा हुनुहुन्छ?’

‘होइन, म त सबैभन्दा फरक बन्ने प्रयसमा छु । तर त्यो सफल हुनेभन्दा नहुने सम्भावना कैयौं गुणा बढी छ । तर मसँग एउटै मात्र हतियार यस्तो छ जसले निरन्तर प्रयास गर्न प्रेरणा दिन्छ; आत्मविश्वास ।’

‘अग्रिम शुभकामना छ मेरो पनि । तर म भने त्यस्तो अजम्बरी बाटो हिड्न सक्दिन ।’

केहिबेर फेरी हाँसो अनि मौनता ।

‘फेरीफेरी म तपाईको सुन्दरताको तारिफ गरौं कि नगरौं?’ फेरी विषयन्तर गर्दै बोल्छ थुतुनो ।

‘अवश्य गर्नुस्, राम्रै लाग्छ । तर त्यस्तै तारिफले मक्ख पर्ने खालको केटीचाही होइन है म ।’

भनेपछि मेरो तारिफले मात्र ऊनी मसँग बोल्न आकर्षित भएकी चाहि होइन रैछिन् । के म पनि कस्तुरी जस्तै त भएको छैन नी, आफ्नो महत्व अरुलाई मात्र थाहा हुने ? अलि बढी नै मपाईत्व ले शिर उठाउलाजस्तो गर्यो ।

‘कसरी गरौं त तपाईको तारिफ?’

‘थुप्रै छन् तरिकाहरु । टुईटरमा सिर्जनशिलताको तारिफ गर्न सक्नुहुन्छ, फेसबुक/इन्स्टग्राममा सुन्दरताको तारिफ गर्न सक्नुहुन्छ, फोनमा स्वरको तारिफ गर्न सक्नुहुन्छ ।’

‘अनि सबैको तारिफ गर्न मन लागे नी?’

‘सबै ठाउँको ठेगाना लिनुस् ।’

फेसबुक आइडी माग्न भूमिका बाँधिरहेको बेला सबै तिरको कन्ट्याक्ट पाइने भयो । लाग्यो उनले दिन लागेका ति एड्रेसहरुमात्र पाउँदा पनि म संसारको सबैभन्दा धनी हुन्छु, अहिले भर्खरै । वास्तविकतामा त्यो केही दिन वा केही छिनकै लागि मात्र किन नहोस् ।

मोबाईलमा डाटा खोल्ने प्रयास गर्छु । ‘E’ देखाउँछ तर अहँ चल्दैन नेट । लाग्छ यो अंग्रेजी अल्फाबेटको ‘E’ नभएर नेपाली अक्षरको ‘इ..’ हो अनि यसले मलाई लोप्पा खुवाईराछ, ‘इ..स’ चलिदिन्छु म भनेर ।

‘नेट नै चलेन, कसरी गरौं तपाईलाई एड ?’

‘शायद हाम्रो कनेक्शन नजोडियोस् भन्ने चाहदो हो टेलिकम ।’

‘नम्बर पनि भनिहाल्नुस् न म चेक गरिहाल्छु ।’

‘९८४९०९८५३..’ ।

म नम्बर डायल गर्छु । तर न नै रिङ जान्छ न नै केहि भन्छ । नेटवर्क त ‘फुल’ देखाईराछ त । कतै यो ‘फूल’ पनि अंग्रेजी वर्ड ‘फुल’ त होइन नी ? अनि म आफै ‘फुल’ भईरा त छुइन नी ?

‘हो जस्तो छ है।’

‘हजुर ?’

‘टेलिकमले.. हाम्रो कनेक्शन नी ।’

म फिस्स हाँसिदिदै पुन नम्बर डायल गर्छु । यता रिङ जान्छ र उता रिङटोन बज्छ ।

दुबै जना फेरी हास्छौं । ऊनी नै बोल्छिन्- ‘होइन रहेछ ।’

सानातिना निकै गफहरु हुन्छन् । धेरैजसो म नै बोलिरहेको हुन्छु । धेरै मान्छेहरु मलाई मुढी सम्झिन्छन् । छु पनि त्यस्तै । खासै अरुसँग रमाउने खालको मेरो नेचर नै छैन । एकान्तमा किताब, मुभी र म्यूजिकसँग नै बढी रमाउँछु । तर जब कसैसँग बोल्न थाल्छु, कस्सम त्यो मान्छेले मलाई गफाडीको दर्जामा नराखी बस्नै सक्दैन ।

अक्सर रोडयात्रा निकै पट्यारलाग्दो हुन्छ । म पनि कैयौंपटक गन्तव्य छिटै आएहुन्थ्यो भनेर प्रार्थाना गर्छु । ड्राईभरले नब्बे किलोमिटरमा हाँकिरहेको गाडीपनि मलाई कमिला हिडेजस्तो लाग्छ । अझै छिटो चलाएपनि हुन्थ्यो जस्तो लाग्छ । तर आज गाडी छिटो चल्यो या ढिलो केहि पनि थाहा भएन । वश, एउटै कुराको मात्र याद रह्यो, हामी त कतिछिटो सागाँभन्ज्याङ पो आइपुगेछौं । यहि ठाउँमा आइपुग्दा अरुबेला कति आनन्द लाग्थ्यो । तर आज त ठिक उल्टो भईरा’छ । यसो उनको मुहारमा हेर्छु, उनी त निकै खुसी देखिन्छन् । छोटो भेटमै त्यस्तो प्रभाव पार्ने र छुटिँदा नियस्रो लाग्ने खालको मसँग के छ र?

केहिबेर मौनता । आफ्नै संसारमा फर्किने जबरजस्ती प्रयास । सानातिना गफगाफहरु । वश, कोटेश्वरमा ट्याक्कै गाडी । कमसेकम आजलाई हाम्रो बिछोड हुने स्थान । जहाँबाट म एकतिर अनि उनी ठ्यक्कै अर्कोतिर ।

‘म यहिं झर्छु बाई’, पातलो सर्लक्क परेका औंलाहरु नचाउँदै उनको सुस्त आवाज निस्कियो ।

‘बाई !’ मैले पनि आफ्नो हात हल्लाएँ । आफू उभिएर निस्किने बाटो बनाईदिएँ । ऊनि निस्किंदा फेरी एकपटक उनको कपालहरुले मेरो देब्रे गालाको स्पर्श गरे । कमसेकम आजलाई अन्तिम पटक मेरो गालाले फेरी आनन्द मान्यो । झ्याल छेउमा गएर हतारहतार बसेँ । थाहा छैन, मलाई झ्याल छेउमा बस्नलाई हतार थियो कि, झ्यालबाट उनलाई हेर्न ? तर एकोहोरो उनैलाई हेरिरहें । गाडी बिस्तारै अगाडी बढ्यो, आफ्नो ब्यागहरु मिलाउन मै ब्यस्त भईन् ऊनि । तर अलि टाढा भएपछि उभिएर मतिर हेरिन् र हातको इशाराले फोन गर्न भनिन् या म फोन गर्छु भनिन् मैले छुट्याउन सकिन । एकाएक मनमा कतै खुसिको झिल्का उठ्यो र फैलियोै पुरै शरिरभरी । दिनभरीको यात्रा र धुलोले डल्लो भएको यो शरिर पनि रुवाझैं हल्का र फुरुंग भयो । झ्यालबाट देखिउन्जेल सम्म उनि त्यहि उभिईरहिन् । मलाई लाग्यो ऊनी अझै मलाई नै हेरिरहेकी छिन् ।

मैले; म गाडीबाट हतारहतार ओर्लिएको । कुनै फिलिममा झैं दौडिदै उनितिर गएको । म त्यहाँ पुग्दा उनी अझै त्यहि उभिएर म गएतिरै हेरिरहेको । उनको आँखाको डिलमा एक थोपा आँशु टिलपिल गरिरहेको । मलाई फर्केर आएको देखेर रुन्चे हाँसो हाँसेको । हाँस्दाखेरी त्यो टिलपिलाउने आँसु खसेको । तर गालाको डिलबाट मुनी खस्न नपाउँदै मैले आफ्नो अन्जुलीमा थापेको कल्पना गरिरहें ।

गज्जब रमाईलो हुन्छ नि हगी, कल्पनामा बाँच्नपनि ?

‘चाबहिल झर्नुस् त लु सबैजना, ए भाई तपाईपनि यहिँ झर्ने होइन ?’

कल्पनाको संसार यस्तै हो एकैछिनमा भताभुंग हुन्छ । मेरो दाहिने हात त अझै पनि केही थापिरहेजस्तो आकार बनाएर पो बसिरहेको रहेछ ।

[27 August, 2018 ]

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्