Logo

रक्ष राईको ‘युद्ध’ कविता त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समावेश


काठमाडौ २ असोज – बेलायतको वेल्समा बस्दै आएका डायास्पोरिक कवि रक्ष राईको युद्धकविता त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समावेश भएको छ ।

राईको ‘पोएट इन किलिङजोन’ नामक कविता सङ्ग्रहभित्र रहेको ‘राईफलम्यान’ शीर्षकको कविता त्रिविको बी.एड. चौथो वर्षको पाठ्यक्रमका लागि स्वीकृत भई पाठ्यपुस्तकमा प्रकाशित समेत भएको छ । राईको कविता सनलाइट पब्लिकेसनद्वारा प्रकाशित ‘लिटरेचर फर ल्याङ्वेज डेभलपमेन्ट’ नामक

पुस्तकमा पढ्न पाइने भएको छ ।

५४ वर्षअघि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङको बुइँपामा जन्मिएका सेवा निवृत्त ब्रिटिस गोर्खा सेना राई डायस्पोरा सिद्धान्तकारका रुपमा परिचित हुनुका साथै डायस्पोरामा बसेर लेख्ने मध्ये अब्बल साहित्यकार मानिन्छन् । गत वर्ष बेलायतमै रहेका युवा साहित्यकार मिजास तेम्बेसँग मिलेर ‘डायस्पोरा सिद्धान्त: सिर्जना र समालोचना’ कृति ल्याएका राईका कविता, कथा र चिन्तनका सात पुस्तक प्रकाशित छन् । तेम्बेसँगै संयुक्त रुपमा नेपाली साहित्यमै वैचारिक पुस्तक ‘नवचेतनाग्रह’ निकालिसकेका राई पछिल्लो समय युद्ध सौन्दर्य चिन्तनसम्बन्धी काम गरिरहेका छन ।

राईका ‘शहीदकी आमाको लास’, ‘बालुवामा नेपाल’ कथा सङ्ग्रह, ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ कविता सङ्ग्रह र अङ्ग्रेजी कविता सङ्ग्रह ‘पोएट इन किलिङजोन’ प्रकाशित छन् । उनको अङ्ग्रेजी कविता सङ्ग्रह बेलायतकै प्रकाशन गृहले छापेको हो ।

कवि रक्ष राईको त्रिवि बीएड चौथो वर्षको पाठ्यक्रममा समावेस गरिएको कविता

राईफलम्यान

खोइ, उसको खुकुरी ?
खोइ, उसको राइफल ?
खोइ, उसको 1157 ?

के ऊ अर्काको धानबारी रुङ्ने बुख्याँचा हो ?
एकजोर खुट्टामाथि उभिएको शरीर
अथवा यौटा कथित मान्छेको आवरण
के उसको अनुहार आफ्नो परिचय हो ?

उसले मलेको बुट र ठोकेको एडी
उसले पड्काएको चिसो राईफल
र छड्काएको चड्के सलाम
के ऊ मान्छे भएको प्रमाण हो ?
जहाँ मुटुको ग्रिनेड बनाइएको छ मानवीय संवेदना
सुन्नु भो – इतिहास लड्नेहरूद्वारा बनाइँदो रहेछ
तर बुझनू भो – इतिहास लड्नेहरूद्वारा नलेखिँदो रहेछ
त्यसैले गोर्खाली मान्छेको विज्ञापन मात्र हो
भन्नोस् – उसले कुन युद्ध लड्नु प-यो अब ?

भलै, ती वीरताका कथाहरू
उपहास गर्ने विषय होलान् उसका नानीहरूलाई भोलि
भलै, ती वीरताका तक्माहरू
खोप्पी खेल्न काम लाग्लान उसका नातीहरूलाई पर्सि
भन्नोस् – उसले कुन इतिहास बनाउन प-यो अब ?
पसिना – आफ्नै ढुङ्गोमाथि टुसाएको राम्रो हो
रगत – आफ्नै माटोमा उम्रिएको जाति हो
मानिस – आफ्नै भूमिमका मौलाएको निको हो
तर विवशता पराय कुकुरको मासुजस्तो भएपछि
भुक्दोरहेछ संसारको बिरुद्ध र चाट्दो रहेछ मालिकको पाउ
टोक्दोरहेछ मान्छेको खुट्टा र चाट्दो रहेछ मालिक्नीको घाउ
जित्दो रहेछ अर्काको धर्ती र हार्दो रहेछ आफ्नो माटो
मुत्दै हिँड्दो रहेछ अर्काको गोरेटो
र हराउँदो रहेछ आफ्नो बाटो
यसरी बिरानिदै जाँदो रहेछ बगेको रगत
र पुरानिँदै जाँदो रहेछ लडेका इतिहासहरू ।

के सिपाहीको पनि आफ्नो अनुहार हुन्छ ?
के राईफलको पनि आफ्नो विचार हुन्छ ?
यसरी बन्दुकले बुद्धि निकालेर जङ्गलले खायो भने
यसरी गोलीको आँखा झिकेर सडकले फो-यो भने
भयानक हुदोरहेछ गिदीको गोली
बेस्सरी घोच्दोरहेछ ब्यानेडले चेतनाका अङ्गहरुलाई
कि उखेलिँदोरहेछ मुटु र हल्लिँदोरहेछ दिमागको जरा ।

खोइ, उसको कम्ब्याट ?
खोइ, उसको क्यामो क्यामोप्ल्याइज ?
खोइ,उसको बुट ?
खोइ, उसको मेडल ?
आफ्नै युद्ध हार्ने विश्व विजेता ऊ
आफ्नै गोली खाएर मारेको चिसो राईफलम्यान हो
– यो राइफलम्यान ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्