एसपीसहित १६ प्रहरीमाथि छानबिन
निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले एक छानबिन समिति गठन गरेको छ । आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा छानबिन समिति बनाएको हो । समितिले सोमबार मात्रै पन्तको बलात्कार र हत्या घटना अनुसन्धानमा संलग्न एसपी डिल्लीराज विष्टसहित नौ अधिकारीसँग प्रहरी प्रधान कार्यालयमा बयान लिएको छ ।
अनुसन्धानमा प्रत्यक्ष संलग्न १६ जनाको बयानका लागि सबैलाई प्रधान कार्यालयमा बोलाइसकिएको छ । अधिकारीसँग अनुसन्धानमा उनीहरूको भूमिका के थियो, अनुसन्धान कसरी अगाडि बढाइयो भन्नेदेखि अनुसन्धान निष्कर्षमा पुग्न नसक्नुको कारणबारे सोधिएको छ ।
समितिले निर्मला पन्तको अनुसन्धानमा संलग्न ६ जनाको बयान लिइसकेको छ भने अन्यको पनि पालैपालो बयान लिइनेछ । प्रत्यक्ष रूपमा घटनाको अनुसन्धानमा खटिएकाहरूको पोलिग्राफ टेस्टसमेत गरिने भएको छ ।