युवराज राईद्वारा निर्देशित चलचित्र ‘यारी’लाई सर्वोत्कृष्ट फिल्म अवार्ड
काठमाडौं, १ असोज । वीर बहादुर (युवराज) राईद्वारा निर्देशित चलचित्र ‘यारी’ ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट फिल्म बन्न सफल भएको छ ।
अमेरिकाको न्यूयोर्कमा आयोजित ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल’मा राईद्वारा निर्देशित चलचित्र ‘यारी’ले छनौटमा परेका ९ चलचित्रहरू मध्येबाट किराती राई जातिको चलचित्र ‘यारी’ उत्कृष्ट चलचित्र (बेष्ट फिल्म) चुनिएको हो।
त्यस्तै, निर्माता तथा क्यामेराम्यानको रुपमा परिचित निर्देशक राईले उत्कृष्ट क्यामेराम्यानको अवार्डसमेत पाएका छन् । विगत ३ दशकदेखि वृत्तचित्र तथा चलचित्र क्षेत्रमा काम गर्दै आएका राईले सयभन्दा बढी वृत्तचित्र, चलचित्रका काम गरिसकेका छन् ।
त्यसैगरी, महोत्सवबाट प्रदान गरिएको १० बिधाहरूमा ‘बेष्ट एक्टर’ राजेश गुरुङले ‘भेंडी गोठाले’ (गुरुङ) चलचित्रबाट, ‘बेष्ट एक्ट्रेस’ भिन्तुना जोशीले ‘स्वयनगु’ (नेवार) चलचित्रबाट, ‘बेष्ट स्टोरी’ प्रिया तामांगले ‘सेम्की तम’ (तामांग) चलचित्रबाट, ‘बेष्ट फिल्म बाई पब्लिक चोईस्’ ‘भेंडी गोठाले’ (गुरुङ) चलचित्र, ‘बेष्ट डाईरेक्टर’ अरूण कुमार प्रधानले ‘ओम्ला’ (याख्खा) चलचित्रबाट, ‘बेष्ट कस्टुम’ ‘स्वयमगु (नेवार) चलचित्र, ‘बेष्ट स्कृन प्ले’ अमृतमान महर्जनले ‘स्वयनगु’ (नेवार) चलचित्रबाट र ‘बेष्ट म्यूजिक’ रैंयाँ (मगर) चलचित्रले प्राप्त गर्न सफल भएकाछन्।
त्यसैगरी, छनौटमा परेका ३ वटा लघु चलचित्रहरूबाट ‘बेष्ट सर्ट फिल्म’ को पुरस्कार गो सु नङा (सुनुवार) ले प्राप्त गरेको छ भने २ वटा डकुमेण्ट्रीहरूबाट ‘बेष्ट डकुमेण्ट्री’ संजोग लाफा मगरद्वारा निर्मित ‘कमल पोखरी’ (नेवार सम्पदा) विधामा अवार्ड जित्न सफल भए ।
महोत्सवका लागि प्रवेश गरेका नेपालका ४६ आदिवासी चलचित्रहरु मध्ये ९ चलचित्रहरु दुई दिने महोत्वसमा छनौट गरी प्रदर्शन गरिएको थियो । उक्त महोत्सवमा ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री (वृत्त चित्र) पनि प्रदर्शन गरिएको थियो । चलचित्रहरुको लागि बिभिन्न १० विधाको पुरस्कारहरुको व्यबस्था गरिएको थियो ।