पुनर्निर्माण सक्न थप ६ खर्ब लाग्ने
विनासकारी भूकम्पबाट क्षति भएका भौतिक संरचानाको बाँकी पुनर्निर्माणका लागि थप ६ खर्ब लाग्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीइओ सुशील ज्ञवालीले भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब रुपैयाँ लाग्ने बताउनुभएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँगको छलफलमा सीइओ ज्ञवालीले चालू आर्थिक वर्षभित्र पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने जनाइएको छ ।
प्राधिकरणले पुनर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब र तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । २०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चातको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो ।
पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायले ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये ६७ अर्ब रुपैयाँ उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइसकेको छ । बाँकी ३ खर्ब ४३ अर्ब मध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।