पोखरा प्रिमियर लिग भब्य हुँदै, प्रत्यक्ष प्रशारण हुने
पोखरा । पर्यटकीय सहर पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।
कार्तिकमा हुने पहिलो संस्करणको पीपीएल क्रिकेटका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले ब्रोडकाष्टिङ पार्टनरको रुपमा हिमालय टेलिभिजनसंग ३ बर्षे सम्झौता गरेको छ ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यकममा क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बि लामा र हिमालय टिभिका अध्यक्ष धर्मराज भुसालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै हिमालय टेलिभिजनले आयोजकलाई ३ करोड ७० लाख रुपैयाँ प्रदान गर्नेछ । यस्तै हिमालय टिभीले टेलिभिजन र सम्पूर्ण डिजिटल अधिकार प्राप्त गर्नेछ ।
सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म संचालन हुनेछ । लिगमा एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेल्ने ६ टोली र ३ नयाँ टोलीले यो प्रतियोगितामा सहभागिता जनाउने छन् ।
फ्रेन्चाइज बेसमा नेपालका प्रमुख सहरको स्वामित्वमा रहने टिमले खेलाडी अक्सनबाट छनोट गर्नेछन् । लिगमा दुई विदेशी खेलाडी रहनेछन् ।
यस्तै आयोजकले प्रतियोगिताका लागि पोखरा रंगशाला भित्र रहेको मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । मैदानको पिच निर्माण कार्य भारतको मुम्बईबाट आएका पिच क्युरेटर सन्तोष सिंहले गरिरहेका छन् ।
यस्तै प्रतियोगिताको लागि ४५ हजार दर्शक क्षमताको कृतिम प्याराफिट निर्माण गरिने छ ।