आजको छापाका आठ खबरहरु
- निर्मला हत्या प्रकरणः प्रहरीको ‘उल्टो’ भूमिका
काठमाडौं – फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो ।
तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।
न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र उनी मातहतका प्रहरीले योजनाबद्ध रूपमै प्रमाणहरू नष्ट गरेको देखिन्छ ।
किशोरी निर्मला पन्तलाई उनकी साथी रोशनी बमले घटना हुनु एक साताअघिदेखि नै डान्स सिक्न जान कर गरिरहेकी थिइन् । ‘साउनमा स्कुल वर्षेबिदा भएदेखि ऊ दिनहुँ आउँथी र जतिखेर पनि निर्मलालाई डान्स सिक्न पठाउनु न आन्टी भनेर कर गरिरहन्थी,’ आमा दुर्गादेवी पन्त भन्छिन्, ‘मैले हुँदैन, डान्स सिक्ने हाम्रो अवस्था पनि होइन र इच्छा पनि छैन भनेर टारेँ । तर उसले जिद्दी गरेको गर्यै गरेपछि अर्काकी छोरीलाई सम्झाइरहनुभन्दा आफ्नै छोरी नजाओस् भनेर निर्मलालाई दुई–चार चड्कन लगाएकी थिएँ ।’
त्यसको दुई दिनपछि साउन ९ गते आमा नभएका बेलामा रोशनी निर्मलालाई भेट्न उनको घर पुगिन् । गुजाराका लागि निर्मलाका बा घरदेखि अलि पर कञ्चनपुरकै भासी भन्ने ठाउँमा ठेलामा पानीपुरी बेच्थे । निर्मलाकी आमा पनि घरमै चटपटे बेच्ने गर्थिन् । आफू नभएका बेलामा आएकी रोशनीले उधारोमा चटपटे खाएको र ‘भोलि घरमा पैसा लिन आउनू’ भनेको कुरो पछि मात्रै आफ्नी अर्की छोरीबाट दुर्गादेवीले थाहा पाइन् ।
साउन १० गते बिहान ९ बजे दुर्गादेवीले निर्मला र अरू दुई छोरीसँगै खाना खाइन् । अनि निर्मलालाई होमवर्क गर्दै पसलमा बस्नु भनेर सामान लिन बजारतिर हिँडिन् । ‘दिउँसो १ बजे फर्केर आउँदा कान्छी छोरी मात्रै थिई, जेठी छिमेकीकोमा गएकी रहिछ,’ उनी भन्छिन्, ‘मैले निर्मला खोइ भनेर सोधें, उसले रोशनीकोमा गाइड बुक र अम्बा लिन जान्छु भनेर हिँडी भनी । निर्मला ११ बजे गएकी रहिछ ।’
- निर्मला हत्या प्रकरणः ‘अब एसपी र डिएसपीको डिएनए जाँच’
प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।
‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’
निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन्। एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताइन्।
‘४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन। निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ।’
घरमा भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आउँदा पनि छोरीको हत्यामा प्रहरीभित्रैको मान्छेको हात भएको शंका छ, प्रहरीभित्रै अनुसन्धान गरिदिनुहोस् भनेर आफूले अनुरोध गरेको उनले स्मरण गराइन्।, आजको नागरिक दैनिककमा यो मुख्य खबर रहेको छ
- बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती
रौतहट – बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको समाचार आजको कान्तिपुरको दोस्रो पृष्ठमा छापिएको छ ।
पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो ।
रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । भदौ २० गते घरमा कोही नभएको बेला अन्सारीले बलात्कार गरेका थिए ।
घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु)ले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे । बालिकाकी आमाले भनिन्, हामीसित पनि बयान लिने काम भयो । पछि सुनें, पैसा दिने निर्णय भएछ । अस्वीकार गरेर प्रहरीसमक्ष न्यायका लागि आयौं ।
- विद्यार्थीले एसईई फाराम भर्न पाएनन्
काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् ।
गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् । आजको कान्तिपुरको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।
आगामी चैतमा एसईई परीक्षा तयारी गरिरहेका करिब साढे ५ लाख विद्यार्थीले गत बर्ष नै भरेको फाराम पनि स्वीकृत गरिएको छैन । रजिस्ट्रेसन फाराम स्वीकृत भएपछि मात्रै परीक्षा आवेदन फाराम भर्न पाइन्छ ।
परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको व्यवस्थापन र तयारीको काम गर्दै आएको थियो । कार्यालय खारेज गरेर बोर्डले परीक्षाको जिम्मेवारी पाएपछि मन्त्रालयसँग विवाद बढेको हो ।
मन्त्रालयले व्यवहारिक रुपमा कार्यालय हस्तान्तरण नगरेको भन्दै बोर्डले काम अघि नबढाउँदा कक्षा ९ र १० का विद्यार्थीले फाराम भर्न पाएका छैनन् ।
- उमेर ढाँट्ने पुर्वडिएसपीविरुद्ध मुद्धा
उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
उनले आफ्नो उमेर करिव २ बर्ष ढाँटेर डिएसपीमाा बढुवा भएका थिए ।
गतबर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुलउपर गरेको थियो ।
उनी ०३७ वैशाखमा १८ बर्ष पुगेका थिए । तर, आफु १६ बर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
- प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई पत्याएनन्
काठमाडौं – केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् ।
बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि उनीहरू आक्रोशित समेत भएका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
प्रदेशमा कामै नपाएको भन्दै मुख्यमन्त्री, मन्त्री र सांसदहरू धेरैजसो काठमाडौं धाउने गरेका छन् । प्रदेशसभाहरु विधेयक तयार पार्न, प्रस्तुत गर्न, अन्य कानुनी र संवैधानिक काम गर्नसमेत अलमलमा पर्ने गरेका छन् ।
प्रदेश ५ को प्रदेशसभा बैठक सञ्चालनका लागि सहजीकरण गर्न पुग्नुभएका प्रदेश सभा सम्पर्क तथा समन्वय केन्द्रका उपसचिव रामकुमार पौडेलले आवश्यक पर्दा प्रदेशलाई संघले समन्वय गर्दै आएको बताए ।
आइतबार हुने भनिएका अन्तरप्रदेश परिषद्को बैठक अन्तिम अवस्थामा आएर रद्ध भएको थियो । त्यसअघि पोखरामा भएको मुख्यमन्त्रीको भेलाले एजेन्डासमेत तय गरेको थियो तर प्रधानमन्त्री ओलीले व्यस्तता देखाउँदै बैठक बसाएनन् ।