अब कालिमाटीमा किसानका स्टल
कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानका पनि स्टल रहने भएका छन्।
हाल व्यापारीका मात्रै स्टल हुँदा उपभोक्तालाई बढी मूल्य पर्ने र किसानले पनि उचित मूल्य नपाउने समस्या भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका स्टल राख्ने व्यवस्था गर्न लागेको हो।
कालिमाटीमा रहेको बेथिति हटाउन र सुधार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा किसानका लागि केही स्टल छुट्याउने उल्लेख छ।
सोही प्रतिवेदनमा उल्लेख भए अनुसार समितिले अहिले किसानलाई स्टल राख्न दिनेगरी गृहकार्य गरेको छ।
हाल किसानबाट उपभोक्तासम्म तरकारी आउँदा कम्तीमा तीन बिचौलियाले ढुवानी तथा आफ्नो नाफा राखेर बेच्ने भएकाले उपभोक्तालाई बढी मूल्य पर्ने गरेको छ।