प्राचीन किरात कालिन शासन प्रणाली कस्तो थियो ?
-भाई किराती
“जुन कालमा मानवको मुख्य साँस्कृतिक योगदान, मृतक शरीरलाई सम्मान पूर्वक दाहसंस्कार वा गाड्दा चिहानमाथि खाद्य वस्तु, उसले प्रयोग गर्ने गरेको औजारहरु राखिदिएर नजिकै आगो बाल्दथे । जुन युगमा मानव जातिले कृषि खेती, पशुपालन गर्दैनथे साथै निश्चित स्थानमा स्थायी बसोबास गर्दैनथे ; तर आगोको आविष्कार गरिसकेका थिए ! र, ढुंगाको विभिन्न हतियार निर्माण गरि आफ्नो सुरक्षा र जीविका चलाउनु सक्नु ठूलो देन हो ।” :- प्रोफेसर ल्युकस
मानव जातिको उत्पत्ति र बिकास क्रमको इतिहास हेर्दा एक काल्पनिक कथा वा मिथक जस्तै लाग्छ तर सत्य त्यही हो । “सुरुमा तब जीव बन्ने क्रमले गति लिन्छ जब उपयुक्त वातावरण सहितको भौतिक जगतको निर्माण हुन्छ ।” जीव उत्पत्तिको बारेमा प्रथमतः भाइरसको उत्पत्तिलाई प्रारम्भिक चरण मानिन्छ । जसको आधारमा प्रोटिनको उत्पत्ति हुन्छ, अब प्रोटिनको माध्यमबाट अजैविक तत्वको बिकास हुन्छ, अजैविकबाट बल्ल जैविक तत्वको बिकास भइसकेपछि मात्रै जीव अस्तित्वमा आउँछ । भौतिक जगतमा जीवको प्रथम रुप अमिवा हो । जुन जीवको संरचना एक कोषीय थियो । यसरी जीवको रूपमा बिकास हुनु करोडौं वर्षको अवधि लागेको थियो । लाखौं वर्षपछि ती एक कोषीय जीव त्यत्तिकै यथास्थितिमा रहन नसक्ने स्थिति सृजना भएदेखि छुट्टिने क्रम सुरुहुन्छ । त्यस्तो एक कोषीय जीव भाले-पोथीमा बिकास भएकै थिएन । तसर्थ त्यो जीवको शरीरको भागहरु एकातिर हाँगा पलाए जस्तै बढेर जाने अनि बिस्तारै शरीरबाटै टुक्रिएर अर्कै जीव बन्ने क्रम सुरु भयो ।
त्यसरी छुट्टिएर बनेका जीवहरुको स्वरुप विभिन्न आकार, प्रकारमा बिकास हुँदै गए र वातावरणको प्रभावले कतिपय बहुकोषीय जीवहरुको उत्पत्ति भयो । सुरुमा एक कोषीय जलचर अवस्थाबाट बिकास भएको जीवहरुको गति क्रम बहुकोषीय हुँदै उभयचर अवस्थामा बिकास भयो । हरेक अवस्था पारगर्दै धेरै जीवहरुलाई छाडिराखेर केही चाहिँ जलसंसारबाट थलसंसारसँग संक्रमण गर्दै अघि बढ्यो । अब जीवहरु आवश्यक पानी खाएर शरीरमा सञ्चय गरि थल परिवेशमा चरण गर्दै धेरै समय सम्म पानी बाहिर रहन वा उतै बास बस्न सक्ने अवस्थामा पुगे । त्यसैको बावजुद डाइनोसर, बाघ, भालु, बाँदर, र उफ्रेर केही टाढा सम्म पुग्न सक्ने जीवहरु (पछि उड्ने पंक्षीमा रुपान्तरण भए) लगायतका अनगिन्ती जीवहरु भौतिक जगतमा अस्तित्वमा आए । समयको गतिसँगै परिवर्तनशील भौतिक परिवेशको कारण सबैलाई यथास्थानमै छाडेर बाँदर चाहिँ दुई खुट्टाले उभिएर हिड्न सक्ने भयो । तसर्थ बादरको विकसित रुपनै आदिम मानव हो भन्न सकिने आधारहरु पर्याप्त मात्रामा छन । त्यसैको एउटा प्रजाति किराती हो भन्ने कुरा प्रति पूर्ण समर्थन गर्दै किराती सौन्दर्य चिन्तन बारे धारणा प्रस्तुत गरिएको छ ।
“केही खास मान्छेले जान-अन्जानमै खास आफ्नो काल खण्डको नेतृत्व गर्दछ । त्यो नै नयाँ पुस्ताको निम्ति कोषेढुंगा सिद्ध हुन्छ ।”
मानव समुदाय कुनै नदीको आसपासदेखि उत्पत्ति भएका थिए भन्ने ऐतिहासिक तथ्यको आधारमा, किराती समुदाय पनि कुनै नदीको आसपासमा नै सभ्य भए भन्ने कुरा बुझ्नुलाई गाह्रो विषय छैन । मानव, आदिम साम्यवादी युग, दास-मालिक युग, सामन्तवादी युग पारगर्दै पुँजीवादी युगमा प्रवेशक्रम जारी छ । मानव सभ्यता पृथ्वीको पूर्व र पश्चिम दुई ध्रुबबाट भएको मानिन्छ । दर्शनको बिकास पनि त्यही अनुसार भएको छ ।
प्राचीन कालमा दर्शन दुई ध्रुवबाट बिकास भएको पाइन्छ । पूर्वीय दर्शन, भारत र चीनबाट बिकास भयो । भने पश्चिमा दर्शन ग्रीसबाट बिकास भयो । भारतीय दर्शन :- ई.पू. ७०० सांख्य दर्शन – कपिल, ई.पू. ६०० मिमांसा दर्शन – जैमिनी, ई.पू. ६०० चार्वाक दर्शन – बृहस्पति हुन । त्यसैगरी चीनमा ई.पू. ६०० ताओवाद – लाओत्से र ई.पू. ५०० कन्फ्युसियसवाद – कन्फ्युसियस हुन । पश्चिमा दर्शन :- ई.पू. ५०० तत्ववाद – थेलिज, ई.पू.५०० संख्यावाद – पिथागोरस, ई.पू.४०० परमाणुवाद – डेमोक्रीटस हुन, भने सुकरातका ब्याङ्ग्य विधि र प्लेटोका संवाद विधिलाई मिलाएर एरिस्टोटलले तर्क-शास्त्र निर्माण गरे । जुन तर्क-शास्त्र नै मानव इतिहासको पहिलो शास्त्र मानिन्छ । दर्शनले मानव समाजमा ठूलो भूमिका खेल्दै आएको छ । पूर्वीय दर्शन मात्र अनुभवको आधारमा निर्माण गरियो, त्यस्ले त्यही भूमिका निर्वाह गर्यो । र पश्चिमा दर्शन अनुभव र तर्कलाई केन्द्रमा राखेर तार्किक निष्कर्षको आधारमा निर्माण गरियो र त्यही उचाइबाट भूमिका खेल्यो । दर्शन समकालीन विश्वको ब्याख्या गर्ने समष्टिगत ज्ञान हो ।
पूर्वीय दर्शन जुनसुकै आधारमा निर्माण भएको भनिएता पनि अन्ततः त्यसलाई अध्यात्मवादमा लगेर टुंङ्ग्याइएको कुरा सत्य छ । पूर्वीय सभ्यता ई.पू. ३०००,लाई मानिएको छ जो पश्चिमा सभ्यता भन्दा करिब २४०० वर्ष अघि छ । त्यसैगरी दर्शन निर्माणको दृष्टिले पनि २०० वर्ष अघि नै छ । तर विज्ञान र प्रविधिको क्षेत्रमा पश्चिमा मुलुक भन्दा पूर्वीय मुलुक चीन लगायतका केही बाहेक सयौं वर्ष पछि छ । भने नेपाल त झनै हजारौं वर्ष पछि छ । पश्चिमा सभ्यता भन्नाले ग्रिक सभ्यता हो । जो लगभग ई.पू. ६००, तिर देखि सुरु भएको मानिन्छ । जहाँ सभ्यता सँगसँगै भौतिक जगतलाई आधार मानी निर्माण गरिएको दर्शन नै प्राचीन पश्चिमा दर्शन हो । पश्चिमा दर्शन प्राकृतिक र भौतिक दृष्टिकोणमा आधारित तार्किक धाराबाट आरम्भ भयो । जस्ले विज्ञान र प्रविधिको क्षेत्रमा मार्ग प्रसस्त गर्यो । जसको कारण विश्वको वैज्ञानिक प्राविधिक क्रान्ति भएको छ । तर पूर्वीय दर्शनलाई धार्मिक कानुन अनुसार निगमन विधिद्वारा अकाट्य बनाइएसँगै मुन्धुमको बिकासमा ठूलो वाधा पुग्यो ।
किराती समुदायले आफ्नो सभ्यतालाई बचाउन सफल भए । जसलाई पृथ्वीनारायण शाह मात्रै होइन अहिलेको पुस्ताले समेत किरात सभ्यतालाई मान्नु वाध्य छ्न ।
प्राचीन किराती वंशका यलम्बरद्वारा स्थापित राज्य व्यवस्था सामन्तवादमा आधारित थियो । त्यो बेला त्यही आवस्यक थियो जुन व्यवस्थाको मुल भूमिका भूमि केन्द्रित गर्ने हुन्थ्यो । त्यस युगमा सामन्तवादी राज्य प्रणाली बिल्कुलै नयाँ अभ्यास थियो । लगभग समकालीन युग तिर चीनमा पनि कन्फ्युसियसवाद लागू भइसकेको थियो । जुन सिद्धान्त सामन्तवादको मुल आधार हो । त्यही सिद्धान्तको आधारमा ई.पू. २२१, मा छिङ वंशका किङ-सि-ह्वाङ्ले विभिन्न आफ्नो अस्तित्वमा रहेको राज्यहरु एकीकरण गरेका थिए । समकालीन परिस्थितिमा यहाँ किरात देश अस्तित्वमा छँदैथियो । जुन आधारमा स्थापित भएको चीनिया सामन्तवादी व्यवस्था सदीयौंको अन्तराल पछि माओत्सेतुङ नेतृत्वको चीनिया कम्युनिस्ट आन्दोलनले मात्र अन्त्य गर्न संभव भयो । तर नेपालमा अझै सामन्तवाद जिवितै छ ।
किराती वंशले नेपालमा जम्मा ७०० वर्ष सम्म ३२ पुस्ताले राज्यसत्ता सञ्चालन गरेको कुरा नेपालको इतिहासमा उल्लेख छ । त्यसपछि लिच्छवि वंश आएको कुरा उल्लेख छ । किरात कालिन राज्य प्रणाली गणमा आधारित थियो । जहाँ विभिन्न गणहरु आवश्यक अधिकार सहित केन्द्रमा निहित हुन्थे । लिच्छवि कालिन राज्य व्यवस्था पनि किरात कालिन शासन प्रणालीकै नक्कल गर्न खोज्दा छ्ताछुल्ल भयो । जसले गणहरुलाई व्यवस्थित गर्न सकेनन । र त्यसबाट बिस्तारै छुट्टै र स्वतन्त्र टुक्रे-राज्यको निर्माण हुनगयो । समाज बिकास क्रमको नियम अनुसार पुरानो प्रणालीको अन्त्य गर्दै नयाँ र विकसित व्यवस्थाको स्थापना गर्नु पर्ने थियो । तर त्यो हुन नसक्दा विभिन्न बाइसी चौबीसी जस्तो स्व-घोषित राज्यको बिकास भएको थियो । लामो समयको अन्तराल पछि फेरि अलग अलग रहेका टुक्रे राज्यलाई पृथ्वीनारायण शाहले आफ्नो अधिनमा केन्द्रित त गरे तर उनलेे पनि सानन्तवादी व्यवस्था भन्दा बिकासित कुनै व्यवस्थाको परिकल्पना गर्न सकेन र देश पुनः दुर्गतिमै अल्झीरह्यो । यस्तो बर्बर अवस्थामा पनि किराती समुदायले आफ्नो सभ्यतालाई बचाउन सफल भए । जसलाई पृथ्वीनारायण शाह मात्रै होइन अहिलेको पुस्ताले समेत किरात सभ्यतालाई मान्नु वाध्य छ्न ।