Logo

ओलीलाई फालेर प्रधानमन्त्रीमा बाबुरामको चर्चा


खासै पत्यार त लागिहालेको छैन । तर, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पूर्वमाओवादी समूह, वामदेव गौतम–झलनाथ खनाल समूह, उक्त दलभित्रको क्रिश्चियन लबी, कांग्रेसभित्रको कट्टर गणतान्त्रिक लबी, हृदयेश त्रिपाठी समूह र राजपाहरू केपी ओलीको ठाउँमा डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने गृहकार्यमा रहेको स्रोतको भनाइ छ ।

ओलीविरुद्धको चौतर्फी प्रहार र पार्टीको आन्तरिक असहयोगको पछाडि त्यो रणनीतिले काम गरिरहेको छ । ओली गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको सवालमा त्यति प्रतिवद्ध नभएकोले भारतीय राजनीतिमा नरेन्द्र मोदी विरोधी राजनीतिक शक्तिहरू, भारत र पश्चिमका क्रिश्चियन लबी सबैतिरबाट ओलीमाथि आक्रमण बढाएर उनीविरूद्ध शक्तिशाली जनमत निर्माण गर्ने पक्षमा रहेको एक नेताले बताए ।

त्यसैको नाममा पार्टीको भविष्यको नाममा उनीविरुद्ध पार्टीलाई उभ्याउन सकिने सोँच अन्तर्गत काम भैरहेको स्रोतको भनाइ छ ।

ओलीको दलकै र उनी निकट भनिएका मुख्यमन्त्रीहरूले एकपटक प्रधानमन्त्री र आफ्नै दलका नेता तथा अध्यक्षसँग एकचोटी पूर्व परामर्श समेत नगरी संघीय सरकारविरुद्धको सामूहिक मोर्चावन्दीले पनि भित्रभित्रै ठूलै भाँडोमा खिचडी पाकिरहेको संकेत गरेको नेता बताउन थालेका छन् ।

बाबुराम भट्टराईलाई अघि सारेर ओलीलाई हटाउने अनि आफू नै नेतृत्वमा जाने प्रचण्डको रणनीतिमा समर्थन र सहयोगको लागि मुख सुघ्न प्रचण्ड भारत गएका तथा त्यहीँ क्रममा चीन जान लागेको आरोप छ ।

ओलीका दाहिने हात भनेर चिनिएका पूर्वएमालेका अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच भएका केही असक्षम मन्त्रीहरू र ओलीका प्रमुख सहयोगीहरू पनि त्यो रणनीतिका अंग छन् ।

दशैं तिहारपछि सघनरूपमा आउने यो रणनीतिलाई ओली सरकार गठन भएको वर्ष दिन पुग्ने बेलासम्ममा कार्यान्वयन गराई सकिने स्रोतको भनाइ छ ।

बाबुराम भट्टराईको हालैको धर्म निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता राख्न भारतले दवाव दिएको र त्यसलाई नसुनिएकोले भारतले नाकावन्दी लगाएको धारणालाई सार्वजनिक गर्नु पछाडि नेपाल, भारत र पश्चिमा राष्ट्रहरूको क्रिश्चियन लबीलाई नेपाली राजनीतिमा पुनः सशक्त हैसियतमा स्थापना गर्नु र आफ्नो राजनीतिक महत्वाकांक्षा सिद्धि गर्नु हो भन्ने मत बलियो बन्दै गएको छ ।

हिजो पत्यार नलाग्दा नलाग्दै खिलराज रेग्मी नेतृत्वमा सरकार बन्यो । स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उदाहरण पनि छ । त्यसैले बाबुराम भट्टराई प्रधानमन्त्री नबन्लान् भन्न सकिँदैन । अस्थिरताको खेती गर्ने राजनीतिक व्यवसायमा लाग्नेहरूले जे पनि गर्न सक्ने नेताहरूको भनाइ छ ।

मुखको तीतो पोख्न र त्यसैमा स्वाद लिएर घण्टौँ समय खर्चिन सक्ने तर, सरकारको सफलता, प्रभावकारिता र विश्वसनीयता बढाउन खासै समय दिन नसकिरहेका देखिने प्रधानमन्त्री ओलीले गम्भीर ध्यान दिनुपर्ने विषय भने हो ।

(केशवप्रसाद भट्टराईको फेसबुकबाट साभार)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्