साफ च्याम्पियनसिप : माल्दिभ्स र नेपाल, हेड टु हेड नतिजा कस्तो ?
ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बुधबार (भोलि) माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ ।
साफको यस संस्करणमा नेपाल समूह ‘ए’ बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, माल्दिभ्सले समूह ‘बि’ को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको थियो ।
हेड टु हेड कस्तो ?
माल्दिभ्स दक्षिण एसियाली राष्ट्रकै उत्कृष्ट टोली हो । र, नेपालले अहिलेसम्म साफमा माल्दिभ्सलाई हराउन सकेको छैन ।
समग्रमा हेर्दा नेपाल माल्दिभ्सविरुद्ध जित कम हार बढीको स्थितिमा रहेको छ ।
नेपालले हालसम्म साफमा माल्दिभ्ससंग ६ खेल खेलेको छ । जसमा नेपालले २ बराबरी खेल्दा ४ हार बेहोरेको छ । नेपालले साफमा माल्दिभ्सविरुद्ध ७ गोल गर्दा १४ गोल खाएको छ ।
नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितबिहिन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । त्यसको लागि नेपालले आफुलाई समेत तयार गरेको छ ।
‘धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौं । अब माल्दिभ्ससंग खेल्नु पर्नेछ । माल्दिभ्स राम्रो टिम हो । उनीहरुलाई कमजोर मान्नु हुन्न । उनीहरुको केहि खेलाडी महत्वपूर्ण छन्,’ माल्दिभ्ससंगको खेलअघि नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जन भन्छन् , ‘माल्दिभ्सको दुई खेल हेरेको छु । त्यहि अनुसार रणनीति बनाएको छु । उनीहरुलाई हराउन मैले २-३ रणनीति तयार बनाएको छु ।’
तर, नेपालले समग्रमा हालसम्म माल्दिभ्सविरुद्ध १५ खेल खेलेको छ । जसमा ४ जित र ४ बराबरी खेल्दा नेपालले ७ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २० गोल खाएको छ ।
नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध ४ खेल खेलेको छ । जसमा नेपालले १ जित, २ बराबरी र १ हारको नतिजा निकालेको छ । ढाकामा नेपालले माल्दिभ्सविरुद्ध ७ गोल गर्दा ५ गोल बेहोरेको छ ।
माल्दिभ्सविरुद्ध नेपालका पुर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक धेरै ४ गोल गरेका छन् । यस्तै नवयुग श्रेष्ठको नाममा ३ गोल रहेको छ ।
नेपालले माल्दिभ्स पछिल्लो पटक सन् २०१६ को बंगबन्धु गोल्डकपमा ४ – १ ले हराएको थियो । नेपालका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए भने विशाल राईको नाममा एक गोल रहेको थियो । नेपालले उक्त संस्करणको बंगबन्धु गोल्डकप जितेको थियो ।
नेपाल भर्सेस माल्दिभ्स
हालसम्म:
खेल – १५
जित – ४
हार – ७
बराबरी – ४
गोल गरेको – १९
गोल खाएको – २०
साफ च्याम्पियनसिप :
खेल – ६
जित – ०
हार – ४
बराबरी – २
गोल गरेको – ७
गोल खाएको – १४
ढाकामा मात्र :
खेल – ४
जित – १
हार – १
बराबरी – २
गोल गरेको – ७
गोल खाएको – ५