काठमाण्डौमा भीषण आगलागी
काठमाडौँ । राजधानी काठमाडौँको ज्याथा क्षेत्रमा आगलागी भएको छ । मंगलबार बिहान साढे ४ बजेदेखि आगलागी भएको हो। जमलको सानो गल्लीमा अवस्थित सुनिलजंग स्थापितको घरमा रहेको ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
- आगलागीबाट कम्तिमा पनि २ घरको अधिकांश भाग जलेको छ भने अर्को एउटा घरमा पनि क्षति भएको छ ।
- आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएका थिए ।
- आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । आगो लागेपछि झ्यालबाट हापफालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि अस्पताल पठाइएको छ ।
- मिनेट मिनेटको अन्तरमा पुरै ज्याथा क्षेत्र थर्किने गरी करिब ४० देखि ५० वटा अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए ।
- विस्फोटपछि त्यस क्षेत्रका मानिसहरू सबेरै बिहान घर छाडेर जमलतर्फ सुरक्षित स्थानमा निस्केका छन् ।
- आगोले ठुलो रुप लिएपछि अहिले जमल क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेका छन् । तर साँघुरो गल्लीबाट दमकल नपसेपछि पाइप छिराएर आगो निभाउने कोशिश भइरहेको छ ।
- करिब एक घण्टा बितिसक्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।