लाख चोरेर क्यासिनोमा : चार चोर प्रहरी खोरमा
काठमाडौँ । दुई दिनअघि काठमाडौं प्रहरीलाई यस्तो सूचना आयो, ‘अर्काको डाटा प्रयोग गरेर विभिन्न बैंकको एटिएमबाट पैसा निकाल्ने गिरोह काठमाडौँको ठमेलमा सक्रिय छ ।’
आर्थिक अपराधसँग सम्बन्धित महत्वपूर्ण सुचना पाउनासाथ महानगरीय प्रहरी परिसर काठमाडौँका सुरक्षा अधिकारीहरु सूचना फलो गर्न थाले । अन्ततः दुई दिनको मेहनतपछि ठमेलस्थित एक होटलबाट एटिएम फ्रड गर्ने कार्यमा संलग्न तीन भारतिय नागरिकसहित चार जना पक्राउ परेका छन् ।
एटिएम चोरीमा संलग्न भारतिय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मीलाई सोमबार ठमेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी० बसन्त लामाले रातोपाटीलाई जानकारी दिए ।
करिब एक महिनादेखि ठमेलको एक होटलमा बसेर एटिएम चोरीमा संलग्न भारतिय गिरोह एटिएम चोरीको पैसा बोकेर क्यासिनो जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आइर्तबार रातभर एटिएम फ्रड गर्नेहरु मल्ल होटलको क्यासिनो बेलीमा जुवा खेलेर बसेपछि प्रहरीले उनिहरुलाई सोमबार विहान मात्र नियन्त्रणमा लिएको छ ।
भारतिय नागरिकहरुसँगै पक्राउ परेका क्षेत्रपाटी बस्ने नेपाली नागरिक अनुज नकर्मीले ब्रोकरको काम गर्दै आएको बताईएको छ । भारतीय नागरिक मध्येका केराला स्थायी घर भएका जिन्टु जुवाए आईटिका जानकार हुन् ।
उक्त समुहले विदेशी नागरिकको एटिएम डाटा ल्याएर नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र टुरिजम बैंकको खाताबाट पैसा निकालेका थिए ।
यो गिरोहले एटिएम कार्डलाई ‘स्वाइप मेशिन’ मार्फत् स्वइप गरेर पैसा निकाल्दै आएका थिए । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।