विप्लव- सिकेलगायतसँग वार्ता
मुन्धुमस्टार
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले वार्ताका लागि २३ वटा विद्रोही समूहको पहिचान गरेको जनाएको छ । सरकारले अब विप्लव समूह र सिके राउतसँग पनि वार्ता गर्ने भएको छ । यद्यपि विप्लव र राउत समूहले भने सरकारसँग वार्तामा बस्ने औपचारिक घोषणा गरेका छैनन् ।
प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले द्वन्द्वरत समूहलाई वार्तामा आउन सोमबार औपचारिक आह्वान गरेको हो ।
- १४ भदौदेखि सिंहदरबारभित्र कार्यालय स्थापना गरेर काम थालेको टोलीले वार्ताका लागि २३ वटा समूहहरुको पहिचान गरिसकेको जनाएको छ । तीमध्ये अधिकांश मधेसकेन्द्रित समूहहरु रहेको वार्ता टोलीका एक सदस्यले जानकारी दिए ।
- पहिलो चरणमा चारवटा समूहसित वार्ता गरिने सरकारी वार्ता टोलीले सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।
- गत ८ भदौमा गठन भएको सरकारी वार्ता टोलीका सदस्यहरूमा सुरेश आले मगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका सहसचिव कुमार खड्का सदस्य सचिव छन् । टोलीलाई तीन महिनाको म्याद दिइएको छ ।
- २३ समूहसँग वार्ता गर्ने भनिए पनि को(कोसँग वार्ता गरिँदैछ भन्नेबारे विप्लव समूहबाहेक अरुको पहिचान खुलाइएको छैन । थप केही समूहहरुले वार्ताको माग गर्दै टोलीलाई निवेदन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
- सिके राउतसँग वार्ता गर्ने अनौपचारिक रुपमा स्वीकारिए पनि औपचारिकरुपमा सरकारी वार्ता टोलीबाट धारणा आएन ।
- पहिलो चरणमा चारवटा समूहसँग वार्ता हुने टोलीले जनाएको छ । वार्ताका अनुभवी, विज्ञ र सुरक्षाविद लगायतसँग छलफलपछि विभिन्न कागजपत्र अध्ययन गरेर टोलीले वार्ता गर्न लागेको हो ।



