वैदेशिक रोजगारीका सबै सूचना र जानकारी एउटै सर्भरमा
काठमाडौं – वैदेशिक रोजगारीलाई व्यवस्थित, विश्वासिलो र मर्यादित बनाउने उदेश्यकसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ काम सुरु गर्दैछ । गृह र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा संयुक्त इन्टरनेट सर्भर सञ्चालनमा ल्याउन लागिएको हो ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सरकारी निकाय र विदेशस्थित नियोगका सूचना र जानकारी एउटै सर्भरमा जोड्ने काम सकिएको श्रम मन्त्रालयले जनाएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संयुक्त सर्भरको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ । भोलिदेखि औपचारिक सुरु भए पनि असोज १ गतेदेखि पूर्ण रुपमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभाग, परराष्ट्र मन्त्रालयको राहदानी विभाग र कन्सुलर सेवा विभागसँग श्रम तथा रोजगार मन्त्रालयको सर्भर लिङ्क गरिएको छ । संयुक्त सर्भर लिङ्कलाई विदेशका सबै नियोगको सर्भरमा जोड्ने तयारी छ ।
यसबाट विदेशमा कार्यरत कुनै नेपालीलाई केही समस्या पर्यो भने तत्काल समस्या समाधानमा सहयोग पुग्ने सरकारको विश्वास छ । यस्तै कुन देशमा कति नेपाली कामदार कार्यरत छन् भन्ने यकिन तथ्याँक पनि थाहा हुनेछ ।
एकै क्लिकमा सबै जानकारी
श्रम मन्त्रालयले तयार पारेको सर्भर लिंक सञ्चालनमा आएपछि वैदेशिक रोजगारीमा जान लागेका र गएका सबैको विवरण उतिखेरै थाहा पाउन सकिन्छ । राहदानी विभाग, श्रम विभाग, अध्यागमन विभाग लगायत वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कार्यालय र नियोगको सर्भर लिङ्क हुने भएकाले कम्प्युटरमा पासपोर्ट नम्बर क्लिक गर्ने बित्तिकै एकपटकमा सबै विवरण हेर्न मिल्ने मन्त्रालयको भनाई छ ।
यसबाट वैदेशिक रोजगारीमा जाने र फर्कनेको तथ्याँकसँगै विदेशमा कार्यरत नेपालीले झेल्नुपर्ने समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको छ । यसले कामदार ठगीमा पर्ने क्रम पनि रोकिने श्रम मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीको विषयमा कुनै व्यक्तिले गरेको उजुरी तथा गुनासो पनि अनलाइन प्रणालीमा समावेश हुनेछ । साथै श्रम मन्त्रालय अन्तर्गतका कुन संस्थाका फाइल तथा काम कहाँ पुगेर अड्किएको छ र प्रक्रिया के भैरहेको छ भन्ने जानकारी पनि लिन सकिने मन्त्रालयले जनाएको छ ।
यो सर्भर अर्थात अनलाइन प्रणालीको सुरुवातसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका कामदारको तथ्याँक राख्ने काम पनि सुरु हुनेछ ।