यात्रा सस्मरण: उफ! गर्मीमा चिया गफ? # एच.आर. मुस्कान
आज बाबुको मुख हेर्ने दिन । तर मेरो भने धरानको यात्रा छ आज । बिहान तीन बजेर चालिस मिनेट जाँदा उठेको छु । त्यो पनि ३:३० को अल्लार्म बजिरहेकोले । सबै तयारी सकेर कोठाबाट निस्कँदा चार बजेर पच्चिस मिनेट भएको छ । चोकमा निस्के बित्तिकै एउटा ट्याक्सी आईरहेको देख्छु र रोक्न हात उठाउँछु तर ट्याक्सीमा प्यासेन्जर देखेर फेरी अर्को ट्याक्सी हेर्न थाल्छु । तर त्यहि ट्याक्सी केही अगाडी गएर रोकिन्छ र ट्याक्सी चलाउने अंकलले मलाई बोलाउँनु हुन्छ । म नजिक जान्छु ।
‘कहाँ जानुहुने?’ उहाँ सोध्नुहुन्छ ।
‘चाबहिल’ म जवाफ दिन्छु ।
‘आउनुस् बस्नुस् म उतै जाँदैछु, बस्ने ठाउँ खाली छँदैछ ।’ उहाँ भन्नुहुन्छ ।
म बस्छु ट्याक्सीमा । बाटोमा कुराकानी हुन्छ मजाले । उहाँहरु गोकर्ण मन्दिरको दर्शन गर्न गएर आउनुभएको रहेछ । बाबुको मुख हेर्ने दिन गोकर्णमा निकै ठूलो भिडभाड हुन्छ । त्यो दिन त्यता सार्वजनिक यातायात चल्दैनन् । कुराकानीकै क्रममा थाहा हुन्छ ललितपुरको लेले घर भई हाल पाटन मंगलबजारमा बसोबास रहेछ उहाँहरुको ।
हिजोदेखी अन्जान सहयोगीहरु अचानक भेटाउँदै आएको छु म । हिजो बौद्दमा माला किन्न भनि पसलमा पस्दा एकजना जापानी जस्तै देखिने आधावैंशे पुरुष माला सोधिरहेका थिए । पसलमा बस्ने मधेसी मुलका भाईसँग हिन्दिमा कुरा गरिरहेका थिए ऊनि ।
‘इसका कितना हे?’ उनले सोधे ।
‘बाह्र सौ रुपियाँ ।’ पसलको भाईले भन्यो ।
मैले पनि ‘कतिवटा मालाको?’ भन्दै बिचैमा सोधेँ ।
‘एउटाको । चन्दनको माला हो दाई, राम्रो छ महँगै पर्छ यो ।’ त्यो भाईले जवाफ दियो ।
मैले यसो माला हेरेँ । त्यहि माला हातमा लगाउनलाई ट्राई गरिरहेको थिएँ । त्यो अन्जान व्यक्तिले ‘जोडिका कितना हे?’ भन्दै सोधिरहेको सुनें । सोचें दुईवटा लिएर जान लागेको होला । हामीबीच मुस्किलले चार/पाँच शब्द मात्र बोलचाल भएको थियो । पसलबाट निस्किने बेला ‘पैसा दिया हे’ भनेको सुनें । मैले खासै राम्ररी रेस्पोन्स केही पनि दिइन । किनकी मलाई लागिरहेको थियो उसले भनेको मलाई नभएर पसलेलाई हो । तैपनि शिष्टता देखाउने मनशायले हल्का टाउको हल्लाएँ । उनी मुस्कुराउँदै निस्किए । मलाई एक त खासै मन परेको थिएन त्यो माला दोस्रो म पाँच सय जतिको मात्र किन्छु भन्ने मनशायमा थिएँ । त्यसैले मैले त्यो माला फर्काएर अर्को लिन खोजेँ । तर पसलको भाईले अचम्मको कुरा भन्यो, ‘दाई तपाइको पनि मालाको पैसा तिरेर जानुभयो त्यो दाई त ।’ म अचम्ममा परें । ‘होइन होला ।’ मैले भनेँ । ‘उहाँले पछि पैसा हजार रुपियाँ थपेर त पुर्याउनुभएको ।’ उसले भन्यो । मलाई विश्वास नै लागेन । तर त्यो भाईले पैसानै निकालेर देखायो र भन्यो ‘उहाँले तपाईलाई चिन्नुहुन्छ होला ।’ मैले निकैबेर सोचेँ तर हाम्रो चिनजान हुने कुनै सम्भावना नै थिएन ।
म के गरौँ? के नगरौँ? को दुविधामा निकैबेर बसेँ । मेरो दुविधा देखेर त्यहि भाईले सहज बनाउन भन्यो ‘धर्म होस् भनेर दिएको होला चिन्नु भएको छैन भने । अरुलाई किनेर दिन्छन् धेरैले यहाँ ।’ मैले त्यो भाईलाई सोधेँ ‘कता जानुभयो उहाँ ?’ ‘यतै जानुभएको छ’ भन्दै बाहिर तिर देखायो ऊसले । म माला हातमै लिएर बाहिर आएँ । त्यो अचम्मको मान्छेलाई खोज्दै बौद्द तिर निकैबेर हिडें तर अहँ भेटिन । अहिलेपनि त्यो माला मेरै हातमा जस्ताको तस्तै छ । तर प्रश्नहरु अनगिन्ती छन् मनमा । अनि पश्चताप पनि छ यसकारण कि मैले मेरो लागि एकदुई शब्द बोल्दा नै बाह्र सय तिरिदिने मान्छेलाई धन्यवाद पनि भनिन ।
हो त्यस्तै सहयोग आज फेरी बिहानै पाएको छु । चाबहिलमा मलाई छोडेर उहाँहरु घरतिर लाग्नुहुन्छ । म धेरैधेरै धन्यवाद भन्छु । हुन्छ बाबु ठिक छ उहाँ भन्नुहुन्छ । चाबहिलमा झरेर म हायस (माइक्रो बस) कुरेर बसिरहेको छु । हिजै एकजना भाईले नितेशजंग कुवाँरको एउटा गीत खतरा छ भन्दै सुनाएका थिए । निकै मन परेपछि मैले डाउनलोड गरेँको थिएँ । त्यहि गीत बजाउँछु र राम्ररी सुन्छु । निकै गज्जबको लाग्छ लिरिक्स । तपाइहरु पनि काठमाडौंमा बस्नुहुन्छ या कुनै समय बस्नुभएको थियो भने अवश्य पनि यो गीतको लिरिक्स मनपर्छ होला । यस्तो छ त्यो गीतको लिरिक्स…
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
लौन के गर्ने…
राजधानीमा बाँच्न लास्टै गाह्रो भो
धुलो धुवाँ सास फेर्न नै साह्रो भो
जाँदा लाको सेतो कपडा पुग्दा कालो भो
[कल्ले के भन्ने?]२
काइदा कानुन संविधानमै अड्कियो
दु:ख पाउन सारा नेपाल पल्कियो
बस्दाबस्दै नेताज्यूको ढाँडै सड्कियो
कल्ले के भन्ने?
लौन के गर्ने?
ट्याक्सी भित्र मिटर कहिल्यै चल्दैन
पाँचसय घटी पाङ्ग्रै उसको सर्दैन
चेकिङ गर्दा ट्राफिक दाईले वास्तै गर्दैन
[कल्ले के भन्ने ?]२
बाटो यहाँ ढिलै भएनी बढ्या छ
नियम छैन जथाभावी गर्या छ
दुर्धटनाले गर्दा दिनकै मान्छे मर्या मर्यै छन्
कल्ले के भन्ने?
लौन के गर्ने?
खर्च धेरै बढ्या होइन आम्दानी
केहि पुग्दैन जति दुःख गर्दानी
साहुलाई बालै छैन मैले सुली चढ्दानी
[कल्ले के भन्ने ?]२
बेरोजगारी हाम्रो चलनचल्तिमा
पोट र क्यारम दोबाटो र गल्लीमा
आधा विदेश आधा भने म्यूजिकल्लीमा
कल्ले के भन्ने?
लौन के गर्ने ?
लोकल बसमा मान्छे धेरै हालेर
हिँडेको छ बस नै पुरै बाङ्गेर
ओभरटेक हान्दैछ अझै सबलाई शान दिएर
[कल्ले के भन्ने]२
मन्त्री आउँछ गाडीभित्र सजिएर
के को हतार किन त्यसै बत्तिएर
भोट हाल्ने जनतालाई नै साइड लाग् भन्देर
कल्ले के भन्ने?
लौन के गर्ने?
रुपै कालो कान्तिपुर नगरीको
पानी पर्दा सारा सहर नदी भो
हिँडेका छन् रेलिङ चढी यो त अति भो
कल्ले के भन्ने?
लौन के गर्ने?
हामी पनि केहि नी यहाँ कम छैन
कुरा काट्न कहिले पछि हट्दैन
घरमा हिरो बाहिर केही नि गर्न सक्दैन
कल्ले के भन्ने?
लौन के गर्ने?
यस्तै चलि रह्यो भने ए साँइला
नयाँ नेपाल हेर्नै कहिले नपाइएला
इज्जत हाम्रो इतिहाँसमै बाँकी रहिदेला
कल्ले के भन्ने?
लौन के गर्ने?
कल्ले के भन्ने यहाँ लौन के गर्ने ?
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
हाइस काभ्रेभन्ज्याङमा रोकिएको छ खाजा खानलाई । म निस्कन्छु । खासै खान त मन छैन तर गएर आलु चना माग्छु ।
अलि ठूलो चम्चाले भरीभरी उठाउने हो भने तीनतीन चम्चा छ होला आलु र चना। म खाईदिन्छु । काउन्टरमा गएर पैसा सोध्दा होटल वाला एक सय भन्छ । चुपचाप निकालेर दिन्छु म । यसो सोच्छु-होटललाई यसको लागत कति होला? बढिमा पन्ध्र रुपियाँ देखि बिस रुपिंयाँ । अनि पाच सय पर्सेन्ट नाफा?? अनि कसैले केहि भन्दैनन् पनि । यसो हेर्छु, ड्राईभर आफै प्लेटमा के-के थुप्रै खाने कुराहरु हालिरहेको छ । हुनत अरु ठाउँ पनि त होला यो भन्दा अलि सस्तो होटल । तर उसलाई यस्तै सुविधा प्राप्त भएकोले न होला हामीजस्तो प्यासेन्जरलाई यहि ल्याएर बलि चढाउँदैछ ऊ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
यसो फेसबुक खोलेर हेर्छु । आज सबैले आफ्नो बुबाको फोटो हालेर रंगिन बनाएका छन् टाइमलाईन । तर मलाई भने किनकिन यस्तो गर्न मन पर्दैन । थोरै बाबा प्रतिको माया तर धेरै नौटंकीजस्तो लाग्छ । बरु रमाइलो गर्न मन लाग्छ र यसो एकदुइवटा स्ट्याटसहरु हाल्छु कमेडी टाइपका ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
सिन्धुलीको फनफनी घुमेका उकालो बाटोंमा हायस दौडिरहँदा घामले निकै नराम्ररी पोल्न थाल्छ तिघ्रालाई । सहज हुने भएर हाफ पेन्ट लगाएर हिडेको थिएँ अहिले आएर अलि टेन्शन भईरा’छ । अगाडीको सिटमा बसेर यात्रा गर्नुको एउटा बेफाइदा यो पनि हो । के गर्नु केहि छैन घाम छेक्ने उपाय । घाम त झनै आँखै तिर्मिराउने गरि लागिरहेको छ । म गोजिमा भएको कालो रेबन चस्मा निकालेर लगाउँछु ।आँखालाई शितल महशुस हुन्छ । र केहि छिन पछि देखि त कस्सम घामले तिघ्रा पनि पो पोल्न छोड्छ । जे होस् धेरै कुराहरु त हाम्रो सोचाईमा पनि त भर पर्छ नी !
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
चिया बारिमा खाना खाईरहेका छौँ । ‘टोकन लिएर खाना खान बस्नुस् है ।’ तिनचार जना काम गर्ने भाईहरु कराईरहेका छन् निरन्तर । म एउटा भाईलाई जिस्काउँछु, ‘म त मुख र हात लिएर बस्ने हो खाना खान त ।’ ऊ फिस्स हाँसिदिन्छ । म चिकेन खानाको पैसा तिरेर एउटा टेबलमा बस्छु । निकैबेर कुरेपछि आइपुग्छ खाना । भोक त खासै लागेको छैन तर बाटोमा हिँड्दा जहाँ खान मन लाग्यो त्यहि त रोक्न मिल्दैन त्यसैले खाईदिन्छु । एक हिसाबले भन्ने हो भने जबरजस्ती नै । ‘टोकन लिएर खाना खान बस्नुस् है ।’ निरन्तर कराइरहेका छन् अघिकै भाईहरु । म फेरी अघिकै भाईलाई जिस्काउँछु, ‘थप खानाको लागि पनि टोकन लिन आउनुपर्ने हो र?’ त्यो भाई हाँस्दै ‘पर्दैन-पर्दैन’ भन्छ र खाना लिएर आउँछ । एक दुई चम्चा जति थप खाना थाप्छु ता कि उसलाई जिस्काएको जस्तो मात्र नहोस् । एक जना बैनी आउँछिन् तरकारीको चार वटा कचौरा लिएर । ‘के राखौं दाई?’ ऊनि सोध्छिन् । ‘पुग्न त सबै पुगेको हो तर बैनीले त्यति राम्ररी सोध्नु भएपछि साग थपौँ न त बैनी’ म उनलाई पनि जिस्काउँछु । ऊनी पनि हाँस्छिन् र थोरै थपिदिन्छिन् । म एक दुई गाँस खान्छु र बाँकी छोड्छु त्यहि टेबलमै । दालको कचौरा त मैले जहाँ खाना ल्याउने भाईले राखिदिएको छ त्यहाँबाट छोएको पनि छैन ।
मैले खानेकुराहरु त्यसरी छोडिदिँदा केहि गल्ति गरेजस्तै लाग्दैन । बरु उल्टो सोच्छु, ‘यस्तो जाबो खानाको दुई सय पचास तिरेको छु अलिअलि छोडिदिँदा के हुन्छ र ?’ उता होटल मालिक सोच्दो हो, ‘सबैले यसरी नै नखाए पनि खाने कुराहरु थाप्दै फाल्दै गर्छन् अनि दुई सय पचास पनि नलिए त कसरी चल्छ होटल ?’ जे होस् सधैँजसो खाना खाँदा म मासुको सुपसँग मात्रै खाना खान्छु तर कहिलेकाहीँ मात्र म दाल नल्याउँनु भन्छु होईन भने त जहिलेपनि खेरा फाल्छु म दाल । पसलमा कहिलेकाँही दाल किन्न जाँदाखेरी मात्र त्यो फालेको दालको महत्व थाहा हुन्छ । झन गोजीमा पैसा कम हुनुपर्छ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
बर्दिबास आईपुगेको छ हायस । चोकमा रोकेर खाली भएका सिटहरु भर्न प्यासेन्जर हेरिरहेका छन् चालक र सह-चालक । म भने नजिकैको चिया पसलतिर हेरिरहेको छु । जहाँ दुईतीन जना मधेसी मूलमा आधाबैंसे मान्छेहरु चिया पिउँदैछन् दाहिने हातले अनि सँगसँगै देब्रे हातले पसिना पुछ्दैछन् थोत्रो गलबन्दीले । त्यो निकै अनौठो दृश्य छ, देख्ने र ख्याल गर्ने सबैको लागि । म फोन निकाल्छु र फोटो खिच्छु । मनमनै खुल्दुली लाग्छ, ‘हिमालको काखतिरको गाउँठाउँमा कुनै दिन आइसक्रिम फेमस होला कि नहोला तराइमा चिया भएझैँ ?’ म आफू भने हायसभित्र बस्दा पनि पानी तताएर बाफ लिइरहेको छु कि झैं फिल गरिरा’छु।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
आज चार पनि बज्न नपाउँदै भानु चोक ल्याइपुर्याएको छ हायसले । बसपार्क भित्र छिर्यो भने पैसा तिर्नुपर्छ भनेर उसले बाहिरै प्रहरी चौकी छेउमा रोकेको छ । एकजना प्यासेन्जर बसपार्क मै लगिदिनुपर्छ भन्दैछ । म यहि झरिदिउँन त किन उहाँहरुलाई पैसा तिराउने पाँच दश पाइलाको कुरा न हो, भन्छु । अब भने हल्का रिसाएको अनुहार बनाउँदै तर केहि नभनी ऊ ओर्लिन्छ र शान्ती चोक कतिमा लानुहुन्छ? भन्दै सिटी सफारी चढ्छ । म मनमनै सोच्छु ‘शान्ती चोकको अशान्ती मान्छे ।’
म शिष्ट देखिनलाई चालक र सह-चालकहरुसँग हात मिलाउँछु अनि उहाँहरुसँगको आजको यात्रा निकै रमाईलो भएको कुरा गर्छु । अनि फेरीफेरी यात्रा गर्नुपर्दा उहाँहरुलाई नै सम्झिने वाचा गरेर छुटिन्छु र भाईलाई कुर्न थाल्छु । तर वास्तवमा म आज बाटैभरी आफ्नै मोबाइलमा भएका गीतहरुसँग मात्रै व्यस्त भएको हुन्छु । जे होस् आफूले बोलेको एकदुई शब्दले अरुलाई खुसी बनाउँछ भने त्यति बोल्न किन कन्जुस गर्ने?