Logo

बायुङ मौलिक खिम(घर)


#किशोर बायुङ राई

(लेखक मानवशास्त्रमा स्नातकोत्तर विद्यार्थी हुन )


#चित्रमा बायुङ्ग मौलिक खिम :बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपालको साँस्कृतिक निधिहरुमध्ये बायुङ सँस्कृति एक हो। बायुङ(बाहिङ) किरात राई जातिअन्तर्गत पर्नेजाति हो। बायुङहरुलाई बायिङ, बाहिङ, रःदि, रुम्दाली, रोके भनेर चिनिन्छ। ऋाफ्नो मातृभाषालाई बायुङ लो, बाहिङ लो, प्रोचा लो, रःदि लो, वाइ लो भनेर भन्दछन्।

बायुुङ राईहरुको ऐतिहासिक भुगोल ओखलढुंगा जिल्ला र दक्षिण पश्चिम सोलखुुम्बु जिल्ला हो भने बसाइसराइ तथा मानवीय गतिशीलताको फलस्वरुप देशका विभिन्न जिल्लाका विविध स्थानलगायत नेपालभन्दा बाहिरको मुलुकहरुमा पनि बायुङहरुको बसोबास रहेको पाइन्छ।

बायुङ संस्कृतिको भौतिक पक्षअन्तर्गत उनीहरुको मौलिक खिम(घर) को संरचना महत्वपुर्ण छ। जीवनशैली र संस्कृति मुध्धुममा आधारित छ। मुध्धुमको मर्मले डोयाएको हुन्छ। फलस्वरुप पृथक मौलिकताको कायम रहेको देखिन्छ। केही मौलिक बायुङ खिमको महत्वपुर्ण पक्षहरुको चार्चा गरौंः


  • दिशा र अवस्थितिः   खिम (घर)को मोहडा बिहानीको पहिलो किरण आउने( घाम झुल्किने) दिशातर्फ फर्काइन्छ। घरनिर्माण तथा सुब्बेफाब्बेको वास्तु झाम्चाले हेर्दछन्। घडेरी नागको शिर हुनुहुन्न।
  • द्याम्बुलीः    द्याम्बुली ठ्याक्कै नेपालीकरण गर्दा आगन हो। यो घर अघिल्लो भागमा राखिएको भाग हो। द्याम्बुलीमा विशेषगरी विभिन्न दैनिक व्यावहारिक तथा सांस्कृतिक गतिविधि गरिन्छ। जस्तैः अन्नपात सुकाउन, सरजामहरु राख्न, दाउराहरु राख्न साथै संस्कृतिका विविध शीलीहरु नाच्न, रीतिहरु गर्न।
  •  पिन्धीः    बायुङहरु पिढीलाई पिन्धी भन्छन्। यो घरको अगाडिपट्टी ढोकाको लाइन देखि द्याम्बुली सुरु हुने लाइनबीचको भाग हो। प्रँयजसो यसको सतह द्याम्बुलीको झण्डै एक÷डेढ फिट अग्लो हुन्छ। पिन्धीको प्रयोग पनि द्याम्बुलीको जस्तै विविध प्रायोजनका लागि गरिन्छ।
  •  दिम्सालुङ्ः    बायुङ खिम(घर)को पिन्धीबाट द्याम्बुलीमा झर्दा छ्याप्छ्यावा छेउमा बिच्छ्याइएको ढुंगालाई दिम्सालुङ भनिन्छ। शाब्दिकरुपमा भन्नुपर्दा, “दिम्चो”भन्नाले टेक्नु वा कुल्चनु र “लुङ” भन्नाले ढुंगा हो। यसरी घरभन्दा बाहिर निस्कदा सधैजसो टेकिइरहने ढुंगा हो दिम्सालुङ। दिम्सालुङको प्रायोजन विशेषगरी पिन्धीबाट ओर्लिदा नचिप्लिइयोस् भनी सुरक्षाको लागि देखिन्छ।
  • लाप्चो र जस्केलोः    लाप्चो(ढोका) घरभित्र पस्नको लागि अगाडि पट्टि बनाइएको मुख्य द्धार हो। जस्केलो ढोका राखिएको मोहडाभन्दा बाहेकको घाम आउने मोहडामा राखिएको साहायक ढोका नै जस्केलो हो। जस्केलो ढोकाको तुलनामा सानो आकारको हुन्छ।
  •  चोक्चोलुङ्ः   चोक्चोलुङ लाप्चोबाट भित्रपट्टि होसुबाभन्दा अलि माथि र बोकोलभन्दा केही तल घरभित्रको सतहसँगै मिलाएर राखिएको ढुंगा हो। चोक्चोलु¨ घरभित्रै काठहरु टुक्राउन या तेस्तै अन्य काम गर्नको लागि राखिएको हुन्छ।
  • बोकोलः   बोकोल बायुङ किरात राइहरुको अति महत्वपुर्ण स्थान हो। बायुङहरुको बोकोल सत्य र शक्तिको प्रतीक हो। साक्षत शक्तिकोरुप हो। बोकोल घरको भित्रपट्टी लगभग बीचभागमा पर्दछ। बोकोलको स्थापना मुन्धुमअनुसार गरिन्छ। यो बर्ग आकारको हुन्छ र वर्गकारभित्र तीनवटा बोकोललुङ गाडिएको हुन्छ। ती तीनवटा बोकोललुङहरुः सारीलुङ, बबमी(मामालुङ) र बोतिलुुङ भनी भनिन्छ। बोकोलको मुख्यप्रायोजन खानपानको लागि आगो बाल्ने र खाना पकाउनु हो।
  •  मोसुमः    बायुङ मुन्धुमअनुसार मोसुम पवित्र स्थान हो। बायुङहरु मोसुममा आफ्ना पितृ पुर्खाहरुको वास रहने मान्यता राख्दछन्। मोसुम बोकोलभन्दा माथि र, मुल ओछ्यान र ठाडो ओछ्यानको शिरबीचको भाग हो भने मोसुममा अग्रज पुर्खाहरु मात्र बस्ने अनुमति रहन्छ।
  •  होसुबाः    होसुबा लाप्चोभनदा पछाडि , बोकोलभन्दा तलतिर र चोक्चोलुङ छेउको स्थान हो। होसुवामा अशुभ किसिमको रितिथितिहरु गर्ने गरिन्छ। जस्तै मृत्युसंस्कार गर्दा होसुवामा उधोतिर फर्केर गरिन्छ।
  • चिक्रोः     मोसुम र ठाडो ओछ्यानको सुरको भित्रि कुनाको ठाउँ चिक्रो हो। चिक्रो विभिन्न मुन्धुमी रितिथिति पुज्दाखेरि प्रोचा ङासी( किराती जाँड) लाई चालचलनअनुसार विधिवतरुपमा चढाएर राखिन्छ।
  • बुरोखमः   बुरोखम सिधाअर्थमा बुझ्नुपर्दा भण्डारणको स्थान हो। यो ठुलो ओछ्यानको शिरतिरको माथिल्लो कुनातिरको स्थान हो, जहाँ आवाश्यकीय सरजामहरु राख्ने गरिन्छ।
  •  कुर्चोः     कुर्चो बोकोलभन्दा ठीक माथि बनाइएको टाँड हो।जहाँ ग्य्राक्सोमा अन्नपात लगायत अन्य कुराहरु राखेर सुकाउने गरिन्छ।
  • दापेः   दापे मोसुमभन्दा सिधै माथि बनाईएको टाँड हो। यो पनि मोसुमजस्तै अति संवेदनशील र महत्वपुर्ण मानिन्छ। यहाँ मुध्धुमी महत्वराख्ने महत्वपुर्ण सरजामहरु राखी संरक्षण गरिन्छ। जस्तैः चिण्डो, खर्बु, गिजो र खोसुम्बालगायतका मुध्धुमी सरजामहरु दापेमा राख्ने गरिन्छ।
  • ठाडो ओछ्यानः    लाप्चोको माथिल्लो सुर, चिक्रोखमभन्दा तल र बोकोलबीचको भाग ठाडो ओछ्यान हो। ठाडो ओछ्यानमा विशिष्ट बोति(पाहुना)हरुलाई सम्मानकासाथ राख्ने तथा बसाउने गरिन्छ।
  • मुल ओछ्यानः    बोकोलदेखि पछाडितिर, बुरोखमभन्दा तलको केही फराकिलो भाग मुल ओछ्यान हो। यो भाग चाहि प्रायजसो परिवारको सदस्यहरु बस्न र सुत्नलाई गरिन्छ।
  •  धःरः    कुर्चोभन्दा सिधै माथिको भागमा केही सरजामहरु राख्नको लागि बनाइएको भागलाई धःर भनी भनिन्छ। यहाँ विशेषगरी कुनै सामानहरु लमो समयसम्म राख्न या सुकाउनलाई राख्ने गरिन्छ।
  •  क्रेसिङः    क्रेसिङ भुईतल्ला बाट माथिल्लो तलामा जानको लागि बनाइएको काठको भयाङ हो। क्रेसिङ जस्केलो छेउमा राखिएको हुन्छ।
  • रिक्पुः   बाहिर पट्टि घरको भित्ता र कान्लाबीचको गल्छी परेको भाग रिक्पु हो। रिक्पुमा वर्षा हुदा बलेसी बग्दछ।

माथि उल्लेखित कुराहरु बायुङ मौलिक खिमको आधार तत्वहरु हुन्। जसले बायुङ खिमको मौलिकताको गुण सृजनागरी आफ्नोपन प्रदान गर्दछ भने घरको मोहडा घामझुल्किने दिशातर्फ हुनुपर्ने कुराहरु वास्तुशास्त्र नजिक छ। मुख्यकुरा बायुङ वास्तुशास्त्रको गहन र गहिरो अध्यायन र विश्लेषण पर्दछ भन्ने हो। यो बायुङ संस्कृतिको अध्यायन अनुसन्धानको एउटा गहिरो पाटो हो।


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्