आप्पाको सालिक
-चन्द्र रानाहँछा
आप्पाको सालिक
……………………
लसुन होईन नि आप्पा
लु शुन पो त !
जो लेख्थे कलमले तातो बिद्रोह
उभिन्थे मसाल बालेर अक्षरहरुको
विभेदका निशस्त्र मोर्चाहरुमा
र फहरिन्थ्यो झन्डा स्वतन्त्रताको ।
जारी छ –
त्यसरी नै तपाईंको स्वप्न-युद्ध
भीर , पहरा
रुख , लहरा
या खेतबारीका दोखिया आर्कहरुमा
र फहरिरहेछ शान्तिको हरियो झन्डा
भैँसिको गोठमा ।
आपा !
तपाईं लु शुन जस्तै हुनुभएन महान ।
बरु लसुनलाई झैँ तपाईंको मस्तिष्कलाई
किच्यो ऋणको लोहोरोले
सन्तापले
या, भोकले ।
शासकले
चित्रा बुनेर तपाईंको शरीरको छाला
छाईरह्यो उसको छाना
उसैले
हलो ताछेर तपाईंको हात-पाउ
फुटाईरह्यो उसैको बाँझो जमीन
दुवाली छेकेर तपाईंभित्रको जलदेवतालाई
सुकाईपठायो सहस्र शक्ति- भँगालो
फलतः तपाईं –
बाँचिरहनुभो निस्सार बगर…
आप्पा !
तपाईं लु शुन जस्तो हुनै भएन अमर !
माटोको अक्षता निधारमा
चुलाको साइनो फेटामा
गोबरको साइत पाइतलामा
आँखैआँखाले बुनेको चोयाको कवचभरी
छांदेर हजारौं प्राण …
एकसाथ युद्धमा –
हिँडाउनुहुन्छ अनसन तोडाएर तारे र फुर्केलाई
चढाउँनुहुन्छ मुरलीमा
प्रथम बिहानी साईत
र पर्खिरहेका बतासका जुवारीसित
साट्नुहुन्छ अन्तस्थ सुइसुइला ।
भेटिन्छन् –
क्षयग्रस्त गोरेटोको कुइनेटोभरी
समय- ख्याकले चुसेका असहाय स्लोकहरु
जसलाई
खुनको इनामेलले
हुबहु पोत्नुहुन्छ काँधको साइनबोर्डमा ।
सात साल
छत्तीस साल
छयालीस
जनयुद्ध वा जनआन्दोलन …
बाँचेको दिग्भ्रमबिच तपाईं
पटक-पटक ढल्नुभो सहिद
अफसोच ! बन्नुभएन रास्ट्रीय विभुती ।
बरु जहिल्यै हतारमा
आमाको पीरको गुन्युमाथि बिरुप पोखेर
अधकल्चो वीर्य
रहरको मजेत्रोले पुछेर प्रेमरगत
वा लट्टा नकोरेको सिउँदोमा सिउरीछाडेर
हृदयको फुल
बनाईरहनुभो अर्कैको महल
आँगन
समाधी …
मेटाइरहनुभो धुलोमा पोखिएको आफ्नै अनुहार ।
यो समय
शासकको तिनै घरको चौघेरा
चक्कर लगाईरहेछु म
सोचिरहेछु कुन सुरबाट भत्काउँ ?
आप्पा !
यहीँ आँगनमा उभ्याउनेछु म अब
बाँचिरहने तपाईंको पुर्ण सालिक !
फेसबुकबाट लिएको हो ।