चित्रकारलाइ भेटेपछि भनिदिनु
कविता
चित्रकारलाइ भेटेपछि भनिदिनु
म डुब्ने
पश्चिम डाडाभन्दा फरक ठाउँबाट
बादल लुक्ने
क्षितिजभन्दा अलग क्षितिजबाट
उनि अस्ताएर गए …
सबैको मनको आकाशमा उदाइराखेर !
उनले यति कुरा बिर्सिए कि
आफूले हिडदैगरेको आधा बाटो
गाँस चुडाउँदाचुडाउँदैको आधा ढिँडो
कोर्दाकोर्दैको बाँकी चित्र
बुन्दाबुन्दैको आधा तान
रङ्ग पोत्दापोत्दैको आधा क्यान्भास
लेख्दालेख्दैको अपुरो गीत
खिप्दाखिप्दैको अधुरो कविता
अनि सिर्फ उनले नबिर्सनुपर्ने
एउटा कुरा बिर्सिए
फेर्दाफेर्दैको श्वासलाइ फेर्न
र आफनै धड्कनमा धड्किरहेको
आफ्ना छोराछोरी
मुटुमाथी उफ्रिरहेका परिवार
र
उनले अलिकति बाटो मोडे
उप्रान्त कुनै बिहानीमा
पुर्वबाट नउदाउने गरि
अनन्त यात्रामा निस्किएकाछन्
यसरी अलिकति -हतारमा
केहि हतास र भावाबेशमा
एक फरक यात्रा तय गरेका
चित्रकारलाई भेटेपछि…
भनिदिनुहोला
ए जून,
“तिमीले गर्दागर्दैको
सम्पुर्ण कामहरु अपुरै छन्
तर
अपुर्ण हुँदाहुँदै पुर्ण सुन्दर छन्
जसरी आधा जून
सबैभन्दा सुन्दर देखिन्छ – आकाशमा
त्यस्तै उनले लड्दालड्दै
छोडेको पहिचानको लडाइँ,
परिवर्तनको रङ्ग ,
बिश्वकला र साहित्यको यात्रा
आधा जूनभन्दा कम सुन्दर छैनन् पृथ्वीमा !”