भूपू गोर्खाको पेन्सन रोकियो
काठमाडौँ । काठमाडौंबाट पेन्सन बुझ्ने भारतीय सेनाका पूर्वगोर्खाहरूलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ । यसले झन्डै ५० हजार पेन्सनर मर्कामा परेका छन् । भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरूको गुनासो छ ।
नेपालमा ५ लाख हाराहारी पूर्वभारतीय सैनिक छन् । धरान, पोखरा र काठमाडौंस्थित तीन क्याम्प र अस्थायी क्याम्पबाट उनीहरूले पेन्सन पाउँछन् । पोखरा र धरान क्याम्पले भने सेप्टेम्बर १ मै यस महिनाको पेन्सन दिइसकेका छन् ।
एउटै ब्यारेकमा एउटै कानुनअनुसार ज्यानको बाजी लगाएर पकाएको पेन्सनमा आफूहरूलाई मात्रै भेदभाव भएको भन्दै पेन्सनरहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।