पाकिस्तानद्धारा भुटान पराजित, आज नेपालले नजिते सेमिफानल नपुग्ने
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाईनल पुग्न नेपाललाई जित्नैपर्ने समिकरण तय भएको छ । समुह ए अन्तर्गत आज भएको पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित गरेसंगै नेपाललाई जित्नैपर्ने गणित बनेकाे हाे ।
जितसंगै पाकिस्तानले तीन खेलबाट ६ अंक जाेड्दै सेमिफाइनल प्रवेश गरेकाे छ । समान अंक सहित पाकिस्तान शीर्ष स्थानमा रहदाँ बगलादेश दोस्रो स्थानमा रहेको छ । दुई खेलबाट ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।
सेमिफाईनल पुग्न नेपाललाई अब जितको विकल्प छैन ।
आज भएको पहिलो खेलमा पाकिस्तानले भुटानलाई ३–० गोल अन्तरले पराजित गर्यो । खेलको २० औ मिनेटमा भुटानको कमजोर डिफेन्सको फाईदा उठाउदै पाकिस्तानमा मोहमद रजाले गोल गरेका थिए । त्यसको ९ मिनेटमा हसन बसिरले पाकिस्तानकालागि दोस्रो गोल गरेका थिए । दाेस्राे हाफकाे इन्जुरी समयमा फहिम अहमदले तेस्राे गाेल गर्दै पाकिस्तानकाे जित निश्चित गरे ।
समुह चरणका तीनै खेलमा पराजित हुदै भुटान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । भुटानले जारी प्रतियोगितामा एक गोल समेत नगरि घर फर्कन बाध्य भएको छ ।