Logo

राज्यद्धारा बेपत्ता योद्धा ‛दिलबहादुर राइ’को तिज कविता


………………………………………………………………………………………………………………………………………………………
जनयुद्धकै क्रममा वि : स २०५९ साल असार ३ गते ओखलढुंगाका दिलबहादुर राई (क.प्रविण)लाई राज्यले गिरफ्तार गर्यो । बिहान पाँच बजे सुतिरहेकै अवस्थामा काठमाण्डौबाट उनलाई पक्राउ गरी बेपत्ता बनाइयो । आम सर्वहाराको मुक्तिको विगुल फुक्दै हिड्ने राईले वि : स २०५१-०५-२२ मा तिजबारे एक कविता लेखेका थिए । नारीहरुलाई मुक्तिका निम्ति आवाज वुलन्द गर्न आह्वान गरेका राईका अविस्मरणीय ‛नारी अठोट’ कविता…………….

……………………………………………………………………………………………………………………………………………………….

‛नारी अठोट’
–दिलबहादुर राई(क.प्रविण)

तीजको रमाइलो चाड आयो बरि लै
माइतीघरको सम्झना आयो बरि लै

सबैजना माइत जान्छन् तीजको चाडमा
मेरो भने घाँसको भारी थाप्लो ढाडमा

आमा बाबा मलाई सँम्झि रुँदा हुन् बरि लै
मलाई भने घरैमा छेके बरि लै

म चेलीको बिलौना सुनिदिने कोही छैन
रमाइलो चाडमा पनि फुर्सद मैले पाइन

कति सहनु गाली गलौज सासु ससुराको
धेरै छ नि मलाई छेडछाड नन्द देवरको

श्रीमान पनि गर्छन् मलाई राक्षसको व्यवहार
शोषण दमन पाएको छुँ मैले उपहार

चुल्हा चौका भित्रै थुन्छन् हामी नारीजातिलाई
शोषण दमन गरि गरि मार्छन कतिलाई

स्वतन्त्रता भन्ने कुरा छैन हामी नारीलाई
ह्क अधिकार पनि छैन हामी नारीलाई

समाजबाट धेरै दमन भयो नारीमाथि
नारीलाई बाँधि राख्ने कस्तो नियती ?

अब भने बस्नुहुन्न चुप लागेर नारीले
मुक्ति पाउन लड्नुपर्छ नारीहरु साराले

नारी पुरुष बराबरी भन्ने कुरा बुझौन
असमानताको विरुद्धमा मिलि लडौन

पाउने छैनन् हक अधिकार नारीहरुले मागेर
न्याय पाउन लड्नुपर्छ एकजुट भएर

एठ उठ नारीहरु अधिकार लिनलाई
सचेत भइ लड्नु पर्छ शोषण मास्नलाई

एकजुट बनि नारीहरु हुँदै भएन नउठी
मुक्ती सबले पाउँदैनन् शोषणलाई नमासी

शोषण दमन गर्नेहरुलाई सबैले निमोठ
नारीहरुका दिन ल्याउने गरौँ अठोट

अन्यायको विरुद्धमा हामी नारी उठ्दैछौँ
मुक्तीका लागि एक–एक गर्दै मिलि जुट्दैछोँ

कुसंस्कार र कुरितीलाई उखेलेर फयाक्दैछौँ
नारी स्वतन्त्रताको सुखद दिन ल्याई छाड्नेछौँ

२०५१–५–२२
का.म.न.पा–६, सरस्वतीनगर


यस्तै, क्रान्तिकारी कविताहरु पढ्न हामीलार्ईं प्रतिक्षा गर्नुहोला-
मुन्धुमस्टार डटकम


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्