दुई उपसचिव पनि मतियार : इलेक्ट्रिक कम्पनी कब्जा प्रकरण !
काठमाडौं । कीर्ते गरेर करिब ७० करोड रूपैयाँ बराबरको इलेक्ट्रिक कम्पनी कब्जा प्रकरणमा दुई उपसचिव समेत मतियार बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत् उपसचिव धर्मराज रोकाया र गंगाधर पौडेलको प्रकरणमा मिलेमतो भेटिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोकाया र पौडेलको खोजीलाई तीव्र बनाएको छ । हाल उनीहरु फरार छन् ।
कम्पनी रजिष्टारमा कार्यारत ४ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कार्यालयका सहायक रजिष्टार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, आईटी शाखामा करारमा कार्यरत् आशिष महर्जन र पुष्पकला राई छन् ।
उनीहरुको सहयोगमा भारतीय नागरिक राम निरञ्जन जटियाको शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रा.लि. नामको कम्पनी रामेछापका जीतबहादुर मगरको नाममा नामसारी गरेको पाइएको छ ।
कम्पनीको करिब ७० करोड रुपैयाँ बराबरको सम्पत्ति कुम्ल्याउने प्रयासमा मगरसहित मकवानपुरका राजनप्रसाद लम्साल र चन्द्रागिरीका निरजकुमार मानन्धर समेतको मुख्य योजना गरेको देखिएको सीआईबीका एक अधिकारी बताउँछन् ।
उनीहरुले जटियाको घरबाट कम्पनीको कागजपत्र चोरी गरेर कीर्ते धन्दा सुरु गरेका थिए । यसमा संलग्न भएको अभियोगमा १२ जना पक्राउ परेका छन् ।
कहाँ चुके कर्मचारी ?
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार नेपालमा कम्पनी स्थापना गरेको वा लगानी गरेको विदेशी नागरिकको सम्पत्तिको नामसारीका लागि उद्योग विभागको स्वीकृति लिनुपर्छ ।
तर, शंकर इलेक्ट्रिक कम्पनीका सञ्चालक जटियाको शेयर जीतबहादुरको नाममा नामसारी गर्दा विभागको स्वीकृति नै दिइएको छैन । यसमा कम्पनी रजिस्टार कार्यालयका उपसचिवदेखि आईटीका करार कर्मचारीसम्म संलग्न रहेको भेटिएको छ ।
स्रोतका अनुसार सहायक रजिष्टार पोखरेल र जोशीले कम्पनीको नामसारी गर्दा फरक पर्दैन भनेर टिप्पणी उठाएका थिए भने दुई उपसचिवले प्रमाणिकरण गरेका थिए ।
त्यस्तै, आईटीका कर्मचारीले अनाधिकृत व्यक्तिलाई कम्पनीको यूजरनेम र पासवर्ड दिएको आरोप लागेको छ । उक्त कम्पनी २०२८ सालमै स्थापना भएको देखिएको छ ।
सञ्चालक भाटिया पछिल्लो समय सिंगापुर बस्दै आएका थिए ।
कोको पक्राउ परे
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार यो गिरोहले सुरुमा शंकर इलेक्टिकका सञ्चालक राम निरञ्जन जटियाको घरबाट कम्पनीको कागजात चोरी गरेका थिए । त्यसपछि कीर्ति गर्दै शेयर आफ्नो नाममा ल्याए ।
कम्पनीको जग्गा बेच्न वैना गरेपछि सिंगापुरमा बस्दै आएका जटिया थाहा पाएका थिए ।
उनको उजुरीका आधारमा छानविन थालेको सीआईबीको टोलीले मकवानपुर घर भई चन्द्रागिरी बस्दै आएका ४५ वर्षीय राजप्रसाद लम्साल, चन्द्रागिरीका ४० वर्षीय निरजकुमार मानन्धर, रामेछापको सुनापातीका ३३ वर्षीय जीतबहादुर मगर, मोरङको रतुवामाई घर भइ पेप्सीकोला बस्दै आएका ४० वर्षीय पुण्यप्रसाद खरेल, काभ्रेको चौबस घर भइ बुढानीलकण्ठ बस्दै आएका ४० वर्षीय साइला भनिने राजकुमार तामाङ, चन्द्रागिरीका ३१ वर्षीय हिमाल महर्जन, चन्द्रागिरी–१० का ५५ वर्षीय चिरिबाबु महर्जन र बाराको निजगढ–१ घर भइ हाल कलंकी बस्दै आएका २८ वर्षीय अमृत थापा मगरलाई पक्राउ गरेको छ ।
कम्पनी रजिष्टार कार्यालयका सहायक रजिष्टार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, आईटी शाखामा करारमा कार्यरत् आशिष महर्जन र पुष्पकला राईलाई पनि पक्राउ परेका छन् ।
थप दुई जना अझै फरार रहेको सीआईबीका निर्देशक डिआईजी नारायणसिंह खड्काले बताए ।
ब्यूरोका एसपी सानुराम भट्टराईका अनुसार शंकर इलेक्टिक इन्डष्ट्रिज कम्पनीमा १६ वर्षदेखि काम गर्दै आएका जितबहादुरको योजनामा राजन र निरजको मुख्य सहयोगले कागजपत्र चोरी गरेर कीर्ते, सहीछाप र हस्ताक्षर गरिएको खुलेको छ ।
‘कीर्ते कागजपत्र तयार गरी जटियाको नाममा रहेको सम्पूर्ण शेयर खरिद गरेको भनेर कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएर जितबहादुरको नाममा कम्पनी नामसारी समेत गराएको भेटिएको छ’, एसपी भट्टराईले थपे, ‘त्यसपछि कम्पनीको नाममा रहेको करिब ७० करोड ठगी सुरु भएको भेटिएको छ ।’