साफ च्याम्पियनसिप : भुटानविरुद्ध ह्याट्रिक जितको लक्ष्य
ढाका । साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको एक कीर्तिमान छ । साफको ११ औं संकरण सकिदा भुटानविरुद्ध अपराजित यात्राको कीर्तिमान नेपालले बनाएको छ ।
बंगलादेशको ढाकामा जारी १२ औं संस्करणको दोस्रो खेलमा नेपालले बिहिबार तिनै भुटानसंग खेल्दैछ । र, नेपाल अपराजित यात्रामा ह्याट्रिक गर्ने लक्ष्यमा हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित यात्रालाई निरन्तरता दिनु मात्र हुनेछैन । नेपालको अग्निपरीक्षा समेत हुनेछ । यसै खेलले नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ ।
पहिलो खेलमा पाकिस्तानसंग २ – १ ले पराजित नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । नेपालले भुटानलाई हराउन सके सेमिफाइनलको ढोका खोल्नेछ ।
पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने पक्का छ । तर, उपाधि जित्ने लक्ष्य बोकेको नेपालले भुटानलाई हराउन सबै अस्त्र प्रयोग गर्नेछन् ।
‘पाकिस्तानविरुद्ध त्यस्तो सोचेका थिएनौ तर हामीले अन्तिम मिनेटमा गोल खायौ । फुटबलमा यस्तो हुन्छ । यसबाट पाठ सिकेर भोलिको दिनमा जित निकाल्न आवश्यक छ । जितको लागि स्कोर गर्नु पर्ने हुन्छ,’ भुटानविरुद्धको खेलअघि प्रशिक्षक बाल गोपाल महर्जनले भने, ‘त्यहीँ अनुसार तयारी गरेका छौं । खेलाडीलाई निर्देशन गरेका छौं । हाम्रो सम्भावना सकिएको छैन । तर, जित बाहेक अन्य विकल्प छैन ।’
समूह ‘ए’ मा रहेको नेपाल र भुटान अंकविहिन रहेको छ । भुटान आयोजक बंगलादेशसंग २ – ० ले पराजित भएको थियो । यो समूहमा बंगलादेश र पाकिस्तानले ३/३ अंक जोडेको छ ।
यस्तोमा नेपालसंगै भुटानलाई पनि नेपालविरुद्धको खेल महत्वपूर्ण रहेकोछ । बंगबन्धु रंगशालामा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे मैदान उत्रदा दुवै टोली पहिलो जितको खोजीमा रहेको छ ।
अघिल्ला खेलको नतिजा हेर्दा नेपाललाई भुटान सहज प्रतिद्वन्दी हुनेछ । नेपालले भुटानसंग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २ – ० ले हराएको थियो । उक्त खेलमा निराजन राइमाझी र कुमार थापाले गोल गरेका थिए ।
यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३ – १ ले हराएको थियो । नेपालको जितमा सुरेन्द्र तामाङ, बसन्त थापा र विजय गुरुङ्गले गोल गरेका थिए ।
तर, फुटबलमा निरन्तर अघि बढ्दै आएको भुटान पछिल्लो समय बलियो टोलीको रुपमा रहदै आएको छ । भुटानले बंगलादेशविरुद्ध पनि निकै जुझारु प्रदर्शन गरेको थियो । नेपाललाई त्यसको डर हुनेछ । यस्तै नेपालविरुद्ध भुटान पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
भुटानलाई हराउन नेपालले अघिल्लो प्रदर्शनलाई भने सुधार गर्नै पर्ने हुन्छ । डिफेन्समा गल्ती हुँदा नेपालले अन्तिम समयमा गोल खाएर पाकिस्तानसंग पराजित भएको थियो ।
प्रशिक्षम महर्जन अघिल्लो प्रदर्शनमा सुधार आउनेमा विश्वस्त छन् । प्रशिक्षक महर्जनले भने, ‘ हाम्रो टिम जुनै टोलीलाई हराउने लक्ष्य राख्छ तर संयोगवश त्यो हुन् सकिरहेको छैन । अट्याकीङ र डिफेन्स लाइन सुधार गर्नु पर्नेछ । त्यो सुधार भएको खण्डमा हामी जित्न सक्छौ ।’