‘बादल’ले विद्रोह गरी जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ – गोपाल किराती
सैद्धान्तिक-वैचारिक स्पष्टता र व्यवहारिक प्रस्टता भएका गोपाल किराती नेपाली राजनीतिका एक जुझारु नेता हुन् । प्रचण्डको नेतृत्वमा रहदा पार्टी र संगठनलाई नयाँ वैचारिक खुराक दिइरहने नेतामा पर्छन उनी । तर एकाएक प्रचण्डले माओवादी केन्द्रलाई एमालेसँग एकीकरण गर्ने सुनाएपछि उनी असन्तुष्ट बने । किरातीले पहिचान र माओवादलाई नछाडे एकीकरण गर्दा फरक नपर्ने भनेपनि प्रचण्डले सुनेनन् । अन्तत प्रचण्डले एमालेसँग एकीकरण गरे । भने किराती माओवादी केन्द्र विघटन भएको घोषणा गरी आफनै संयोजकत्वमा संंगठन निर्माणको अभियानमा अघि बढे ।
केहीअघि उनै किरातीले राजनैतिक र कार्यनीतिक मुद्धा अघि सारेका छन् । गत भदौ १६ र १७ गते बसेको पोलिटव्युरो बैठकले संसद विघटन, राष्ट्रिय सरकार र संविधान पुनर्लेखनको मुद्दालाई तत्कालीन राजनीतिक कार्यनीतिक मुद्धाका रुपमा अघि बढाएको हो । सरकारले राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्याएको, प्रतिक्रियावादी कर प्रणाली लागू गरेको, अपराध रोक्न नसकेको, पहिचान विरोधी प्रदेश नामाकरण गरेको र संसद जनविरोधी भएकाले नयाँ कार्यनीतिक नारा अघि सारिएको जनाइएको छ ।
अहिलेको संविधानलाई पुरै मान्ने, आधा मान्ने र मान्दै नमान्ने तीन वटा शक्ति अस्तित्वमा रहेकाले सबैले मान्ने संविधान बनाउन पुनर्लेखनको माग गरिएको बताइएको छ ।
किरातीले विप्लवको पार्टीले आफूहरुको नारामा सहमति जनाए संसद विघटनको सम्भावना रहने बताएका छन् । नयाँ राजनीतिक शक्ति सन्तुलन देखा पर्ने अबस्थामा काँग्रेस पनि यो मुद्दामा आउने र राष्ट्रिय सरकार बन्ने उनको दावी छ ।
गृहमन्त्री रामबहादुर थापाका जनपक्षीय काममा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डले अवरोध गरेको भन्दै बादललाई नेकपाबाट विद्रोह गर्न सुझाएका छन् । उनले भनेका छन–‘उहाँ (गृहमन्त्री बादल) लाई जनपक्षीय काम गर्नबाट रोक्न थालियो । अव उहाँलाई गृहमन्त्रीबाट अपदस्थ गर्न सक्छन् । त्यस अगाडि नै उहाँले विद्रोह गर्नुपर्छ र जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ ।’