सिंहदरबारको पुन : निर्माण हुँदै
काठमाडौँ । सरकारले भूकम्पका कारण भत्किएको सिंहदरबार निर्माणलाई तीब्र पारेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसको पुनर्निर्माणलाई तीब्र गतिमा अघि बढाएको हो । पुरातात्विक महत्वका सम्पदा जोगाएर पुनःनिर्माण गरिने जनाइएको छ ।
सिंहदरबारको पश्चिम भागको पुनर्निर्माणसँगै यसको पुरातात्विक सम्पदा जोगाउन पनि अध्ययन जारी रहेको प्राधिकरणले जनाएको छ ।
निरीक्षणमा प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा हरिराम पराजुली, सहसचिव मानन्धरलगायत छन् ।
भूकम्पबाट बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भनेर स्पष्ट नभएकाले त्यसको अध्ययन गर्न इन्फ्रास्ट्रक्चर इञ्जिनियरिङ रिसर्च एण्ड कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिइएको छ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार दुई हप्ताभित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्छ ।
सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनः निर्माण गरियो ।
विसं २०३० मा आगलागीबाट नष्ट भई पछि पुनःनिर्माण भएको सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको भने प्रबलीकरण भइरहेको छ । शर्मा एण्ड न्यू टेक्निकल जेभीले प्रबलीकरण सुरु गरेको करीब तीन महिना भएको छ । २४ करोड रुपैयाँको लागतमा सुरु भएको प्रबलीकरण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।