तीजे गीत-डा भक्त राई
डा भक्त राई
तीज आयो सङ्गै बसी मीठो दर खाँउ
आजैबाट जीवनभरि घरवार बसाँउ ।
म परेँ राईको छोरो तिमी परेउ बाहुनी
समाजले छेक्न सक्छ मायाप्रीति लाउन
जेजे हुन्छ हुन देउ चोखो माया लाँउदा
हामी दुबै भाग्यमानी एकअर्कालाइ पाँउदा
बङ्गुर खान छोड्छु अब तिमी खसी छोड
ठूलो सानो जातिवादी अन्धविश्वास तोड
तीजमा लाउनु रातो सारी साकेलामा छिर्के
तिम्रै लागि छोडीदिन्छु आजै खोया बिर्के
तिमी पूज तुलसीलाइ म पूज्छु चुला
पूजा-आजा भन्दा पनि कर्म गरौँ ठूला
म लाँउछु सेतो टीका तिमी लाउनु रातो
धर्म कर्म आआफ्नै छ जाने एउटै बाटो
तीज मान्न नजाउ माइती रिसाको छन ऐले
दुबैजना सङ्गै जाँउला बोलाउँछन जैले ।
लाज शरम नमान ल मेरो काख्मा हुँदा
काउकुती लाग्न सक्छ पहिलो पटक छुँदा ।
छिर्के= राई जातिको महिलाले लाउने छिर्के सारी
खोया बिर्के= कोदोको रक्सी जस्लाइ बोतलमा खोयाको बिर्को लागाएर राखिन्छ ।
चुला= तीन ओटा ढुङ्गालाई विधिपूर्वक गाडेर बनाइएको किरात जातिको आस्थाको केन्द्र चुल्हो ।