दक्षिण कोरियालाई फुटबलको स्वर्णपदक
काठमाडौं । एसियाड फुटबलतर्फ फाइनल खेलमा जापानलाई २-१ ले पराजित गर्दै दक्षिण कोरियाले फुटबलको स्वर्णपदक जितेको छ ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा ३ गोल सम्भव भएका थिए । ली सुङ र हाङ चानको गोलमा कोरियाले २–० को अग्रता बनाएको थियो ।
अयासे उएडाले अन्तिम समयमा गोल फर्काए पनि दक्षिण कोरियाले जित दर्ता गर्यो । यस स्वर्णसँगै फुटबल टोलीका सम्पूर्ण सदस्यले दक्षिण कोरियाको अनिवार्य सैनिक अभ्यासबाट उन्मुक्ति पाएका छन् । कोरियाको नियमानुसार २८ वर्ष पूरा हुनुअघि नै २ वर्ष सैनिक अभ्यास अनिवार्य रहेको छ ।
यस स्वर्णपदकले टोलीका कप्तान एवं इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परबाट खेल्दै आएका विंगर ह्युङ मिन सनलगायत शीर्ष खेलाडीलाई फाइदा पुगेको छ । सनले गत सातामात्र क्लबसँग ५ वर्षे सम्झौता गरेका थिए ।