तिमी आफू पुग्न नसकेको

दुरदराज अनकन्टार आदिम

बस्तिमा जन्मेको म माथी

मैले चाल्ने हरेक पाइला माथी

मैले फेर्ने हरेक सास माथी

मैले देख्ने रहर र सपनाको रास

माथी

तिम्रो हक छ सरकार तिम्रो हक छ ।

 

त्यसैले मेरो खुन पसिनाको कमाईमा

मन लाग्दो कर घोषणा गर्न सक्छौ

अरबको घामले सेकिएको मेरो

छालाको ढोलक बनाएर राष्ट्रिय गीतमा

निर्धक्क मार्चपास गर्न सक्छौ !

 

सरकार, तिमी नामै सरकार,

कामै सरकार

तिम्रो समृद्धिको सपना साकार पार्नु

अनि सौखिन तलब भत्ताको

मेलोमेसो गर्नु आफन्त इस्टमित्र आसेपासेलाई पोस्नु

तिमी मन लाग्दो गर्न सक्छौ

रैतिहरुको निर्मम शोषण नगरी

कुन इतिहासको धरोहर ठडिएको छ र?

 

इफेल टावर देखि पिरामिड

ग्रेटवाल होस् या

कुतुबमिनार र ताजमहल

शोषित श्रमिकहरुको

खुन पसिना आँशुले उभिएका न हुन्

सिंह दरवारको जग भित्र पुरिएका

श्रमिकका आँसु पसिनाको हिसाब

कस्ले बोल्न सक्छ र आखिर ?

 

कफनको बाकसमा थुनिएर

आउनेहरूलाई पनि कहाँ

छोडेको छौ र सरकार !

लगाउनु सरकार अझै गतिलो कर लगाउनु

कसैले बिरोध गरे देशद्रोहिको डर लगाउनु

बढाउनु सरकार कर बढाउनु

सरकार !

अहिले सम्म थाहा भएको

एउटा पृथ्वीको

एउटा देशमा

एक जुनि हाम्रो जिन्दगी तिम्रै

हातमा छ ।

 

म मकै पोलि बेच्ने गरीब आमा हुँ

ठेला ठेल्ने भारी बोक्ने गरीब

श्रमिक हुँ

ठुला ठुला कर्पोरेट हाउसहरुले

जस्तो चन्दा दिन सक्दिन

बस् यसै गरि कर लाउनु ।

 

म माथी तिम्रो हक छ

सरकार नामको सासकहरु हो

मेरो मृत्युपछि पनि म संग कर

असुल्नु

सालान्ने… मेरो चिहानको निसान

रहिन्जेल

एक एक मुठीको दरले माटो

उघ्यानु ।