Logo

इतिहास बोल्छः लिम्बुवान राष्ट्रिय नाम हो, जातीय नाम होइन


विषय प्रवेश:
हिजोआज यो १ नं. प्रदेशलाई के नाम दिने ? गम्भीर रूपमा छलफल बहस सरोकावाला बीच आमने–सामने भइरहेको छ र सञ्चार माध्यममा पनि चर्चा भइरहेको छ । त्यस विषयमा यो पंक्तिकार पनि सरोकार विषय बाहिर नभएको र यसअघि पनि सञ्चार माध्यम तथा पत्रिकाहरूमार्फत् अभिमत जाहेर गरिसकेको छु, अरुणपूर्व ९ जिल्ला प्रदेश हुनुको औचित्यका विषयमा । लिम्बुवान राष्ट्रिय नाम हो, कुनै जातीय नाम होइन । यक् अर्थात् गढ, थुम्बा अर्थात् योद्धा, यक् निर्माण गरी बस्ने योद्धाहरूलाई राजा पृथ्वीनारायाण शाहले किन लिम्बू कुल भाइ भने ? तसली तामा–पत्र लालमोहर प्रदान गरे ? यदि उनीहरू किरात भएको भए किरात कुल भाइ भन्नु पथ्र्यो । र यसपछिका लालमोहर, हुकुम प्रमाङ्गीहरूमा किरात शब्द कतै छैन न त लिम्बू शब्दको प्रयोग भएको छ । राजा पृथ्वीनारायण शाहले यक्थुम्बाहरूलाई किन ‘कुल लिम्बू भाइ’ भने त्यो अझ खोजको विषय छ । यस्तै इतिहास लेखक बमबहादुर राईको पुस्तक ‘किरात इतिहासमा’ मझिया मुलुक विजय गरेपछि १८३० साल साउन वदी हाल मुकाम मकवानपुर बसी पठाएको चिठ्ठीमा श्री १० लादोसङ थुलोङसिंह मझिया, तावा मझिया, साँग्ला मझिया, तेलुङ्वा मझिया, थर्पु मझिया, मल्दा मझिया, पाठक मझिया र सोजीत मझियाहरूलाई आशिसा भनी लेखेका पत्रअनुसार १८३० सम्म किरात शब्द प्रचलनमा नभएको पुष्टि हुन्छ र वर्तमान राईहरू मझिया हुन् । उनीहरू कहिलेबाट राई भए ? यो खोजको विषय छ ।
तर आजको प्रमुख बहसको विषय भनेको यक्थुम्बाहरूको अस्तित्वसित गाँसिएको अलग प्रकृतिको बहस तथा विषय हो । यस बहसलाई हत्तपत्त, बिना आधार टुङ्गो लगाइयो भने यसको असर देश र प्रदेशका लागि दीर्घकालीन रोग बन्नेछ । यक्थुम्बाहरूको अस्तित्वसित गाँसिएको मातृभूमि तथा यक्थुम्बादेन तथा लिम्बुवान नेपालको इतिहासबाटै मेटाउन खोजियो भने वि.सं. १८३१÷४÷२२ को सन्धिअन्तर्गत नेपालको विस्तार र एकीकरणको सयौँ वर्षको महत्वपूर्ण तथा ऐतिहासिक भूमिका निर्वाह गर्ने जातिलाई पहिचानविहीन बनाइयो भने उनीहरू अन्तिम पटक सुकुम्बासी बन्नेछन् । तर, उनीहरू यति सहज रूपमा अन्तिम पटक सुकुम्बासी कदापि बन्ने छैनन् । वर्तमान इतिहास र समय उनीहरूको विपक्षमा हुँदा–हुँदै पनि आजको परिस्थिति भनेको लिम्बुवान प्रदेशको नाम के राख्ने वैचारिक बहस चुलिएको छ । वैचारिक बहसले गम्भीर विवाद निम्त्याउन सक्ने आभास पाइनु यो प्रदेशको लागि दुःखद् सन्देश मान्नु पर्छ ।

लेखकः अकलबहादुर मेन्याङ्बाे

लिम्बुवान राष्ट्रको उदयः
इतिहासले प्रष्ट पारेको छ कि वर्तमान लिम्बुवानमा बसोबास गर्ने प्राचीन जाति यक्थुम्बाहरूले वि.सं. १९२५ बाट मात्र नामको पछाडि ‘लिम्बू’ लेख्न थालेका हुन् । वि.सं. १९०७ मा लिम्बुवानको मेवाखोला थुममा भएको सिमाना विषयमा लेखिएको मिलाप–पत्रमा हस्ताक्षर गर्ने ४१ जना सबैले नामको अगाडि सुबा लेखेका छन् । यक् थुम्बाहरू यस भूमि तथा ठाउँमा कहिले र कताबाट आइपुगे त्यसको नालीबेली लामो छ, यहाँ संक्षिप्तमा मात्र प्रस्तुत गर्न खोजिएको हो । इतिहासविद् इमानसिंह चेम्जोङद्वारा लिखित पुस्तक ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ मा लेखिएको छ  । यहाँका ८ राजाहरूको अधीनबाट मुक्त हुन १० सरदारहरूले उनीहरू विरुद्ध स्वतन्त्रतताका लागि विषम युद्ध लडेका थिए र त्यस युद्धमा १० सरदारहरू विजय भए । त्यसपछि ८ राजाहरूको मुलुकलाई १० राज्यमा विभाजित गरे । काँड–धनुषको शक्तिबाट विजय प्राप्त गरेको हुनाले नयाँ मुलुकको नाम ‘लिम्बुवान’ राख्ने प्रस्ताव अनुमोदन भयो । यक् थुम्बा भाषामा ‘लि’ भनेको धनुष हो र काँड अथवा ‘तोङ’ भनेको वाण हो । त्यसैबाट लिम्बुवान नामकरण भएको हो । यसलाई मेन्याङ्बो वंशावलीले पनि प्रष्ट गरेको छ । साथै उक्त ऐतिहासिक घटना आजभन्दा १०००–११०० अगाडि भएको मेन्याङ्बो वंशावलीमा लेखिएको छ । त्यसलाई अन्य विदेशी लेखक तथा इतिहासकारले पनि समर्थन गरेका छन् ।

लिम्बुवानको सिमानाः
१० यक्थुम्बा राजाहरूले शासन थाल्नुपूर्व नयाँ मुलुकको सिमाना कायम गरे । त्यसअनुसार उत्तरमा तिब्बत, दक्षिणमा जलालगढ, पूर्वमा टिष्टा र पश्चिममा कमला नदी दूधकोशीसम्म कायम गरे । ती सिमानाहरू विजयपुरमा दरबार निर्माण गर्ने मोरङ साम्राज्यका महाराजा विजयनारायण राय र १० यक्थुम्बाहरूसित सन्धि गरेपछि उनी यक्थुम्बाहरूको पनि अप्रत्यक्ष महाराजा बने । यो नीति वि.सं. १८२६ सम्म गयो । उनको शासनकाल वि.सं. १६४१ देखि १६६६ सम्म थियो । तर विजयनारायण रायको मृत्युपछि उनका सन्तान नभएका कारण अन्य राय तथा सेनहरूबीच खिचातानीको कारण कोशीपारि चौदण्डीलगायत दूधकोशीसम्मको भू–भाग छुट्न गयो । तर पूर्वको टिष्टासम्म र दक्षिणको जलालगढसम्म भने नेपाल र ब्रिटिसबीच सन् १८१४/१८१५ मा भएको युद्धपछि मात्र ब्रिटिसहरूले आफ्नो भारत साम्राज्यमा गाभे । ब्रिटिस साम्राज्यको मानचित्र तथा म्यापमा यस क्षेत्रलाई यक्थुम्बाहरूको प्राचीन मुलुक तथा गोर्खा राज्यको एम्पायर भनी मानचित्रमा देखाएको थियो । त्यसबेला १० यक्थुम्बा राजाबीच राज्य विभाजन हुँदा अरुण नदी पश्चिममा रहेका मझियाहरूको मुलुकलाई सम्बोधन गरेको पाइँदैन । साथै किरात शब्द पनि कतै प्रयोग भएको पाइँदैन ।

वि.सं. १८३१/४/२२ को सन्धि 
लिम्बुवान राष्ट्रको आधारः
राजा पृथ्वीनारायण शाहले विजयपुरमा हस्ताक्षर भएको ऐतिहासिक सन्धिअन्तर्गत दिएको अधिकारमा ‘हामीले खोसे, मासे, पूजी ल्याएका देवताले हाम्रा राजकाज भङ्ग गरोस् भन्ने तामा–पत्र तसली मुलुकी लालमोहर बाँधी माथि लेखिया लिम्बू कुल भाइलाई दियौँ’ भनी कसम खाएका थिए । उक्त सन्धि लालमोहर राजा महेन्द्रले २०२१ मा अन्त गरे । त्यसपछि ढिलै भए पनि राजा ज्ञानेन्द्रको पालामा राजतन्त्र भङ्ग भयो । तात्कालीन राजा तथा सरकारसित भएको सन्धि भङ्ग भएपछि यक्थुम्बाहरूले स्वतन्त्र राष्ट्र घोषणा गर्न सक्थे तर गरेनन् । तर उनीहरू सधैँ राजतन्त्र र एकीकृत नेपालको पक्षधर भए पनि उनीहरूमाथि सधैँ निगरानी गरिन्थ्यो, तथा शङ्काको दृष्टिकोणले हेरिन्थ्यो । र वर्तमान शासकहरू पनि त्यसबाट अछुतो छैनन् । त्यसैकारण उनीहरू लिम्बुवान राज्य तथा स्वायत्तताको मागलाई अस्वीकार गरेका हुन् । र, यति धेरै ऐतिहासिक प्रमाण, दस्तावेजहरू जुटाउँदा पनि १ नं. प्रदेशलाई लिम्बुवान प्रादेशिक नाम दिँदा जातीय राज्य हुने उनीहरूको बेतुक तथा मिथ्या सोचाइमात्र हो । उनीहरूले बुझ्नसक्नु पर्छ, अब पनि लिम्बुवानबिना एकीकृत नेपालको सपना अधुरो रहनेछ ।

अन्त्यमाः
यसरी प्रदेशको नाम के राख्ने बहस चलिरहेको अवस्थामा विपक्षी दललगायत अन्य केही यक् थुम्बा विरोधी तत्वहरू यस प्रदेशको नाम सगरमाथा राख्नुपर्छ भनिरहेका छन् । सगरमाथा शब्द वा भाषा संस्कृत भाषा होइन र ? त्यसकारण यो ब्र्राह्मण जातिको भाषा भएन ? अर्को प्रस्ताव कोशी प्रदेश यो त झन् झर्रो ब्राह्मण भाषा भएन ? सगरमाथालाई यक् थुम्बाहरूले आफ्नो भाषामा चोक्मालुङ र भोटिया भाषामा जोग्मालुङ भन्छन् । त्यसो भए चोक्मालुङ प्रदेश राख्दा हुँदैन ? त्यसो भए त्यो यक् थुम्बाहरूको राज्य हुनसक्छ । यक् थुम्बा जाति राजी हुन सक्छन् । यक् थुम्बा भाषामा कुम्भकर्ण हिमाललाई फक्ताङ्लुङ अर्थात् एकपट्टि कुम (काँध) छोटो भएको हिमाल भनिन्छ । त्यसकारण फक्ताङ्लुङ प्रदेश राख्दा के हुन्छ ? यी दुवै पवित्र हिमालहरू नेपालको प्राकृतिक सम्पदा हुन् तर यक्थुम्बा भाषामा नामाकरण गरिएको हुँदा उनीहरू सहमत हुने छैनन् ।
आखिरी विकल्प भनेको तथाकथित किरात राई र किरात लिम्बूबीच समझदारी हुनसके यो प्रदेशको नाम किरात लिम्बुवान वा लिम्बुवान किरात प्रदेश हुनसक्छ । यसो हुनसके यस प्रदेशमा भविष्यमा हुन सक्ने विद्रोह टर्नेछ । तर ब्राह्मणवाद नीति दुवै समुदायमा हाबी रहेका कारण यी प्रस्तावित नामहरूमा सहमति हुन निकै टाढा देखिन्छ र यी दुवै राष्ट्रिय नामहरू पनि जातीय नाम हुन् भनी ब्राह्मणवादले गोयवल्स रणनीति शैलीलाई चर्को रूपमा प्रयोगमा ल्याउनेछन् ।

(लेखकः यक् थुम्बा इतिहासविद् तथा खोजकर्ता हुन् ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्