Logo

काठमाडौंमा बिमस्टेकले जात्रा, डेनमार्कमा प्रधानमन्त्री र फ्रेन्च राष्ट्रपतिको साइकल यात्रा


विदेशी पाहुनाका नाममा काठमाडौंका जनताको बेहाल भएकै दिन डेनमार्कका प्रधानमन्त्रीले फ्रान्सेली आगन्तुकलाई साइकलमा सहर सयर गराए।

यी दुई देशमा पाहुना स्वागत गर्ने तरिका र जनताप्रति सरकारको जिम्मेवारी हेर्नलायक थियो।

काठमाडौंमा बिमस्टेक सम्मेलनका अतिथिलाई सहर डुलाउन जनताको सुविधासँग सम्झौता गरिएका छन्। देखाउनलाई बाहिरी आवरण सजाइएको छ। रातारात सडक कालोपत्रे गरिएका छन्। प्वाल टालिएका छन्। सडकछेउका रेलिङमा रङरोगन गरिएको छ। महानगरले सधैं थन्काएर राखेका ‘ब्रुमर’ निकालेर धूलो पन्छाएको छ।

हिजोसम्म यही सडकमा जनतालाई सास्ती हुँदा सरकारको आँखा गएन। न भत्केको सडक कालोपत्रे गरियो, न प्वाल टालिए। ब्रुमर त विरलै देखिन्थे।

यो बाहिरी सजावटभित्रको यथार्थ भने सास्तीले भरिएको छ।

सम्मेलन सुरु हुनु एक दिनअघि बुधबारै राजधानीमा जोर–बिजोर प्रणाली लागू भयो। यसले धेरै निजी स्कुल बन्द भए। केटाकेटीको पढाइ छुट्यो। सर्वसाधारणले सार्वजनिक यातायात नपाएर दुःख पाए। बिजोर नम्बरका थोरै गाडीमा खुट्टा राख्ने ठाउँ थिएन। टेम्पो, बसमा यात्रु झुन्डिएका थिए। धेरै जना हिँडेरै काममा गए।

सम्मेलनमा आएका सदस्यराष्ट्रका सरकार प्रमुखको सवारी बेला मूल सडकको ट्राफिक आवागमन बन्द गरियो। यसले सर्वसाधारणलाई झन् दुःख भयो। उनीहरूले एक घन्टाभन्दा बढी जाममा फस्नुपर्यो। बिरामी बोकेको एम्बलुेन्सले समेत बाटो पाएन।

पहिलो दिनै यस्तो बेहाल, सम्मेलन अझै दुई दिन बाँकी छ।

उता, डेनमार्कका प्रधानमन्त्री लार्स लोके रसमुसेनले फ्रान्सेली राष्ट्रपति इमानुल माक्रोँ र उनको टोलीलाई बुधबार साइकलमै राजधानी कोपनहेगन भ्रमण गराए। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनीहरूले करिब एक घन्टा साइकल सयर गरेका थिए।

मध्यसहरको यो यात्रामा कहीँ पनि सर्वसाधारणको आवागमन रोकिएन। डेनमार्कले फ्रान्सेली राष्ट्रपतिको निम्ति स्वागत द्वार बनाएर सडक साँघुरो पनि पारेन।

साइकल सयरको भिडियो हेर्दा दुवै सरकार–प्रमुख साइकल चलाउँदै गफिइरहेका देखिन्छन्। उनीहरूका टोली सँगसँगै साइकलमा सवार छन्। छेउछेउमा सर्वसाधारणको साइकल पनि गुडिरहेकै छ। ट्राफिक सिग्नलको ठाउँमा उनीहरू अडिन्छन्। दुई देशका सरकार प्रमुखको आवागमन निम्ति त्यहाँ सडक रोकिएको थिएन। सर्वसाधारणका गाडी र बस गुडिरहेकै देखिन्थे।

भ्रमण क्रममा फ्रान्सेली राष्ट्रपतिले अर्को वर्ष ‘टुर डे फ्रान्स’ कोपनहेगनबाट सुरु हुने बताएका छन्। हरेक वर्ष जुलाइ महिनामा हुने यो साइकल दौड तीन साता चल्छ।

डेनमार्क संसारकै एक उत्कृष्ट साइकल सहरका रूपमा चिनिन्छ। यहाँ प्रदूषण नियन्त्रणका लागि गाडीको तुलनामा साइकल प्रवर्द्धन गरिँदै आएको छ। सहरभरि साइकल मार्गहरू बनेका छन्।

विदेशी पाहुना आउँदा ट्राफिक व्यवस्थापन गर्नु सामान्य हो। तर, त्यो व्यवस्थापनले सर्वसाधारणलाई समस्या हुनु हुन्न भन्नेमा सम्बन्धित निकाय सजग हुनुपर्छ। हामीकहाँ भने सर्वसाधारणको सजिलो कहिल्यै प्राथमिकतामा पर्दैन। त्यही भएर यस्तो ठूलो कार्यक्रम हुँदा जहिले पनि ट्राफिक व्यवस्थापन असफल हुन्छ। जनताले सास्ती पाउँछन्।

विदेशी पाहुनालाई समेत साइकलमै सहर घुमाएर डेनमार्कले ‘साइकल सिटी’ को उदाहरण दिएको छ। सत्कारका नाममा सधैं जनतालाई दुःख दिँदै आएको नेपालले डेनमार्कबाट पाठ सिक्ला?

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्