‘प्याराग्लाईडिङकाे रजत पदक नेपाल र नेपालीमा समर्पित’
काठमाडाै । प्याराग्लाईडिङका मुख्य प्रशिक्षक योगेश भट्टराईले एशियाडमा जितेको रजत पदक नेपाल र नेपालीमा समर्पित रहेको बताएका छन् ।
इन्डोनेशियामा जारी १८ औ संस्करणको एशियन गेम्समा प्याराग्लाईडिङतर्फ नेपालकालागि ऐतिहासिक रजक पदक जितेपछि प्रशिक्षक भट्टराईले आफुहरुको जितले अन्य खेललाई समेत प्रोत्साहन गर्ने बताए ।
‘हाम्रो प्रतिस्पर्धा स्वर्णकालागि थियो । नयाँ खेल थियो । चौथो दिनसम्म दोस्रोमा थियौ । तर अन्तिममा स्वर्णकालागि चुक्यौ ।’ उनले भने, ‘हामीले प्राप्त गरेको पदक नेपाल र नेपालीकालागि हो ।’
पदक जित्नेमा आफुहरु ढुक्क रहेको बताउदै उनले निरन्तरको मेहनतले अन्तिम दिनमा सफलता मिलेको बताए ।
कुल हजार अंकको प्रतिस्पर्धामा नेपाल २७ अंकले पछाडी पर्दै स्वर्ण जितबाट बञ्जित भएको थियो ।
मुख्य प्रशिक्षक भट्टराईले भने, ‘आगामी दिनमा समेत हामी प्रतिस्पर्धामा उत्रनेछौ । राष्ट्रको झण्डा लिएर अगाडी बढ्नेछौ । देशलाई धेरै भन्दा धेरै पदक ल्याउने प्रयास जारी रहनेछ ।’