Logo

क्रान्तिकारीको ‘प्रतिबन्ध’ प्यार


कृष्णसेन ‘इच्छुक’लाई बुझ्न कविता पढ्नुपर्छ । हो, उनका कालजयी कविताहरु । अध्याँराहरु हटाउन ति अमूल्य कृतिहरु सदा प्रकाश बनिरहन्छन् । आज, उनलाई पढ्न प्रतिबन्ध गरिए नि पढिन्छन् । यसैगरी पढिन्छन् उनका  ‘प्रतिवन्ध’ (कविता)…………………………

प्रतिबन्ध (कविता)

  • कृष्ण सेन ‘इच्छुक’

हाम्रा स्वरहरुमा प्रविबन्ध लगाउँदै
हाम्रा ओठहरुमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ–गाऊ न गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौ

हाम्रा विचारहरुमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरुमा हत्कडी पहिर्याउँदै
तिमी भन्छौ–लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौ

हाम्रा आस्थाहरुमा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टाहरुमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिड
हामी भने त्यही बाटो हिडिरहन्छौ

ओ शासक/प्रशासकहरु !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरु
तिमी जतिसुकै हुकुम र फरमानहरु जारी गर
तिमी जतिसुकै जुलुम र उत्पिडनहरु सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरुमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर आ तानाशाहहरु !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौ ।

उठाइरहन्छौ हामी तिम्राविरुद्ध संघर्षको हातहरु
कसिरहन्छौ हामी तिम्राविरुद्ध विद्रोहका मुट्ठीहरु
ओ अत्याचारका पहरेदारहरु !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथी विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्