अबका पुस्ताले कलेज र विषय कसरी छान्ने ?
नेपालको शिक्षा अझै उकालो लागेको छैन । यो औपचारिकतामा मात्र सिमित छ । शिक्षा संख्यामा होइन गुणमा देखिनुपर्ने तर विडम्बना त्यस्तो छैन । यहाँ शिक्षा लिनेहरु धेरै छौँ तर त्यसको सदुपयोग गर्ने धेरै कम छौँ । हामीलाई आफु के बन्ने भन्ने लक्ष नै स्पष्ट हुँदैन । एसएल्सी सक्दासम्म हामी जसोतसो पढ्छौ । तर, कलेज जिवनमा हामी बतालिन्छौ । के बन्ने ? के पढ्ने ? कहाँ पढ्ने ? के गर्ने ? सवै अन्धाधुन्ध हामी अध्याँरामा निर्णय गर्छौ । यसले गर्दा केही दशकमै हामी बढ्दो उमेर र घट्दो आशाले कोही विदेशिन्छौ त कोही जीवन धान्न केही गर्छौ ।
विगतका यि कुराहरुबाट अबका पुस्ताले सिक्न जरुरी छ । त्यसका लागि पनि केही टिप्सहरु अबका विद्यार्थीहरुका निम्ति गोरेटे हुने विश्वासले केही अघि नयाँ पत्रिकामा प्रकाशित एक सान्दर्भिक लेख संप्रेषण गरिएको छ । हिसानका अध्यक्ष रमेश कुमार सिलवालका टिप्सहरु :
- कक्षा १२ पछि विद्यार्थी आफूले चाहेअनुसारको विषय छान्ने हो । कोही व्यक्ति कक्षा ११ र १२ मा साइन्स नपढी इन्जिनियरीङ र एमबिबिएस पढ्न खोज्यो भने हाम्रो नियमले त्यसलाई रोक लगाएको छ । ११ र १२ कक्षा पढेको आधारमा कुन विषयमा जाने भन्ने निर्णय स्वयं विद्यार्थी आफैँले लिने हो । सोही आधारमा विषय छनोट गर्नुपर्छ ।
- उच्च शिक्षा भनेको कक्षा ११ र १२ अध्ययन गरेकोजस्तो हुँदैन । यो एउटा रोजगारीको ग्यारेन्टी गर्ने पेसा पनि हो । विद्यार्थीले आफू उद्यमी व्यवसायी बन्ने र अर्को रोजगार बन्न सक्ने विषय छान्नुपर्छ । विद्यार्थीको चाहना, रुचि र कुन विषय पढ्न सकिन्छ, सोही आधारमा आफ्नो धारणा तय गर्नु बुद्धिमानी हुन्छ । कुनै पनि विषय आफैँमा नराम्रो भन्ने हुँदैन । क्षमतावान् भएको खण्डमा जे विषय पढे पनि उसले रोजगारी पाउन सक्छ, तर कमजोर विद्यार्थी डाक्टर, इन्जिनियर जे भए पनि जागिर पाउन सक्दैन । त्यसैले बजारमा बिक्री हुनयोग्य जनशक्ति उत्पादन हुनुपर्छ ।
- अध्ययन सकेपछि रोजगारी पाउन वा स्वरोजगार बन्न सजिलो हुने विषय प्राविधिक शिक्षा र सीपमूलक शिक्षा नै हो । डाक्टर, इन्जिनियर, कृषि, फरेस्ट्री आदि विषय प्राविधिकअन्तर्गत पर्छन् । सीपमूलक पढाइअन्तर्गत म्यानेजमेन्टका विषय पर्छन् । होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम, बिबिए आदि पर्छन् । विभिन्न संघसंस्थामा आबद्ध हुने भए सोसोलोजी पनि पढ्नका लागि उपयुक्त विद्या हो ।
- साहित्यमा राम्रो गर्न चाहने विद्यार्थीका लागि अंग्रेजी र नेपाली साहित्य पढ्नु राम्रो हुन्छ । भविष्यमा राम्रो पत्रकार बन्छु भन्ने हो भने मास कम्युनिकेसन पढ्नुपर्छ । यसरी विषय छनोट गर्दा अरूले होइन, आफूले आफैँलाई प्रश्न गर्नुपर्छ । यी विषयबाट आफूले खोजेका चिज प्राप्त गर्न सक्छु भन्ने निश्चित भए मात्र ती विषय अध्ययन गर्नुपर्छ ।
- बाहिर नआएको तर सबैभन्दा बढी रोजगार पाएको क्षेत्र भनेको ‘फाइन आर्ट’ हो । मानिस दिनभर चित्र बनाएर बस्छ । केही नभए ब्यानर बनाएर पनि बसेको हुन्छ । रोजगारीको विषय र राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ, फाइन आर्ट । त्यसो हुँदा विश्वव्यापी बजार केमा छ, त्यसलाई पनि बुझ्न आवश्यक छ ।
- पहिलो कुरा त कलेजको योजनाबारे यथेष्ट जानकारी राख्नुपर्छ । के उद्देश्यले कलेज खुलेको हो । कस्ता–कस्ता व्यक्ति मिलेर कलेज खुलेको हो ? सो कलेजले पढाउनेभन्दा अरू कुरा के दिन्छ ? ब्याचलर, मास्टर पढाएर मात्रै अब पुग्दैन । चार चिज आवश्यक पर्छ । उसमा ज्ञान, सीप, बानी–व्यहोरा, विद्यार्थीको हाउभाउ हेर्नुपर्छ । फिल्ड भिजिट, तालिम, सेमिनार, खेलकुदलाई कत्तिको ध्यान दिइएको छ ? विद्यार्थीको प्रिजेन्टेसनलाई कत्तिको ध्यान दिइन्छ भन्ने हेर्नुपर्छ । समग्रमा विद्यार्थीलाई ज्ञान दिन सक्ने र लिन सक्ने वातावरण हुनुपर्छ भन्ने हो ।
- कलेजको वर्गीकरण पनि महत्वपूर्ण पाटो हो । आइएसओ सटिफाइ हो–होइन ? विश्वको वर्गीकरण, विश्वविद्यालयको वर्गीकरण, कलेजस्तरका कति कोर्स सञ्चालन गरेको छ ? त्यहाँबाट निस्किएका विद्यार्थीको अवस्था के छ त्यहाँ पढेर निस्किएकामध्ये कति जनशक्तिले रोजगारी पाए ? अगाडि पढेका विद्यार्थी र परिवार सन्तुष्ट छन् वा छैनन् यो कुरा बुझ्नुपर्छ ।