Logo

‘किरात’ ब्राह्मणवादको ब्रह्मास्त्र हो !


  • हरि ‘पारखी’

 

धर्मको वहसमा नपुंसक प्रवृत्ति र ब्रह्मास्त्रको कुराः

लिम्बू समुदायमा चलिरहेको धर्मको वहसमा ३ खाले नपुंसक प्रवृत्ति देखापरेको देखिन्छ, जसले सर्वसाधारणलाई यो वहसको अन्तर्य बुझ्न वा यसभित्रको मूल अन्तरविरोध निर्क्यौल गर्न बाधा सिर्जना गरेको छः

पहिलो – आफू इतिहास र मुन्धुमको सर्वज्ञ किरात हुँ भन्ने, लिम्बूहरूले किरात धर्म मान्नु पर्छ, प्रदेश १ को नाम पनि किरात नै हुनुपर्छ भन्ने तर नाहाङमा/माङगेन्ना खःमा गरेर कुखुराको कालेजो/टाउको खान नछोड्ने ‘बौद्धिक’ प्रवृति ।

दोस्रो – लिम्बू जातिका मौलिक संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यको कुरा गर्ने, सतेहाङमा विधि नै किरात धर्म हो र सबै लिम्बूहरूले यही विधि अनुसरण गर्नु पर्छ भनेर घोषणा गर्न चाहिँ नसक्ने तर लिम्बूहरूले किरात धर्म लेख्नु पर्छ भनेर कागजी उर्दी चाहिँ जारी गर्ने संस्थावाला प्रवृत्ति ।

तेस्रो – बकाइदा लिम्बुवान-खुम्बुवान सहित पहिचानमा आधारित संघीयताको अजेण्डा बोकेको राजनीतिक दलमा बसेर किरात किरात भन्दै डुक्रिने र किरात पाए लिम्बुवान त्यसैभित्र समेटिन्छ भन्ने राजनीति वाला प्रवृत्ति ।

मूल अन्तरविरोधः
यो वहसको मूल अन्तरविरोध भनेको लिम्बू समुदायले अनादिकालदेखि मानी आएको “आमाको गर्भमा भ्रूण पैदा हुँदादेखि मृत्युपर्यन्तसम्म गरिने बिभिन्न धार्मिक संस्कार र विधिविधान”लाई कायमै राख्ने (युमा साम्यो अभियान) कि हिन्दूकृत सतेहाङमा विधि अनुसरण गर्ने भन्ने मत बीचको अन्तरविरोध हो ।

पहिलो , नपुंसक प्रवृत्तिले यो अन्तरविरोधको वास्ता गर्दैन, सिर्फ ‘किरात-शव्द-प्रेम’ प्रकट गर्दछ र अम्धाधुन्ध (गोल-मटोल) पाराले किरात धर्म हुनु पर्दछ भन्न जान्दछ ।

दोस्रो, प्रवृत्ति यो वहसमा हुत्तिहारा र सतेहाङमा पन्थको मतियार भएर प्रकट भएको प्रतीत हुन्छ । सतेहाङमा विधि स्वीकार गर्न नसक्ने वहुसंख्यक लिम्बू समुदायको साथ र सहयोग नपाइने भयले उसले किरात धर्म भनेको सतेहाङमा विधि नै हो भनेर उद्घोष गर्न नसकेर घुमाउरो पाराले किरात धर्म लेख्नु पर्छ भन्ने उर्दी जारी गरेको बुझ्न कठिन भएन ।

तेस्रो, प्रवृत्ति आफैंमा चरम अवसरवादी ( चमेरे) र ब्राह्मणवादी राजनीतिक नेतृत्वको पिछलग्गू प्रवृत्ति भएकोले यसबाट कुनै सकारात्मक आशा राख्नु नै मूर्खता हो ।

‘किरात’ ब्राह्मणवादको ब्रह्मास्त्र हो – किन ? किनकि,

१. अहिलेकै अवस्थामा लिम्बू समुदायको धर्मको रूपमा ‘किरात’ कायम भएमा लिम्बू समुदायले अनादिकालदेखि मानी आएको “आमाको गर्भमा भ्रूण पैदा हुँदादेखि मृत्युपर्यन्तसम्म गरिने बिभिन्न धार्मिक संस्कार र विधिविधानहरू” नष्ट हुनेछ र सतेहाङमा विधिको अनुसरणसँगै सारा लिम्बूहरू हिन्दूकृत संस्कार मान्न बाध्य हुनु पर्नेछ । तसर्थ, आफ्ना मौलिक धर्म-संस्कारहरूको रक्षार्थ ब्राह्मणवादको यो ब्रह्मास्त्र विरूद्ध जेहाद छेडिएको हो ।

२. राजनीतिक हिसाबले प्रदेश १ को नाम किरात राखिएमा लिम्बुवान भूमिको ऐतिहासिक पहिचान र अस्तित्व त समाप्त हुन्छ नै, यति मात्र नभएर धर्म किरात, नाम किरात भई सके पछि लिम्बू जातिको मौलिक इतिहास, धर्म, संस्कृति, परम्परा र भूमि – सबै थोकको अस्तित्व समाप्त हुने छ ।

यही कारण मैले ‘किरात’ शब्दलाई ब्राह्मणवादको ब्रह्मास्त्र ठहर गरेको छु !

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्