किरात सभ्यता र दर्शन ! कसरी बिकास भयो

भाई किराती
आदिम बर्बर ढुंगे युग हुँदै समाज, आदिम साम्यवादी युग, दास-मालिक, सामन्तवादी युग पारगर्दै पुँजीवादी युगमा प्रवेशक्रम जारी छ । जब आदिम समाज सभ्यताको युगमा प्रवेश गरेसँगै दर्शनको बिकास तर्फ सिधै सोझिएको पाइन्छ । प्राचीन कालमा दर्शन दुई ध्रुवबाट बिकास भएको पाइन्छ । पूर्वीय दर्शन, भारत र चीनबाट बिकास भयो । भने पश्चिमा दर्शन ग्रीसबाट बिकास भयो । भारतीय दर्शनका आधार कर्ताहरु कपिल, जैमिनी, बृहस्पति ऋषिहरु हुन । चीनमा लाओत्से र कफ्युसियस हुन ।
त्यसैगरी थेलिज, पिथागोरस, डेमोक्रीटस र एरिस्टोटल पश्चिमा दर्शनका आधार प्रात्र हुन । एरिस्टोटलले प्राचीन कालमा तर्क-शास्त्रलाई व्यवस्थित गरे । जुन तर्क-शास्त्र नै मानव इतिहासको पहिलो शास्त्र मानिन्छ । दर्शनले मानव समाजमा ठूलो भूमिका खेल्दै आएको छ । पूर्वीय दर्शन अनुभवको आधारमा निर्माण गरियो । र पश्चिमा दर्शन तर्कको आधारमा निर्माण गरियो । दर्शन समकालीन विश्वको ब्याख्या गर्ने समष्टिगत ज्ञान हो ।
“केही खास मान्छेले जान-अन्जानमै खास आफ्नो काल खण्डको नेतृत्व गर्दछ । त्यो नै नयाँ पुस्ताको निम्ति कोषेढुंगा सिद्ध हुन्छ । जसले समाज बिकास क्रममा प्रत्यक्ष प्रभाव पार्ने कुरा अध्ययनले बोध गराउँदछ ।”
भारतको आधारभूत दर्शन, सांख्य दर्शन ई.पू. ७००, मीमांसा दर्शन ई.पू. ६००, चार्वाक दर्शन ई.पू. ६००,लाई मानिन्छ । दर्शनको विभिन्न धाराहरु पनि छन, जुन दर्शन विक्रम संवतको युगसँगै पूर्णबिराम लाग्न पुग्यो । त्यसैगरी चीनमा ताओवाद ई.पू. ६००, देखि कन्फ्युसियसवाद ई ।पू । ५०० बाट पूर्णबिराम लाग्यो । पूर्वीय दर्शन भौतिकवाद, द्वन्द्ववाद, प्रकृतिवाद जुनसुकै आधारणामा निर्माण भएको भनिएता पनि अन्ततः त्यो अध्यात्मवादमा नै टुंगिएको कुरा सत्य हो ।
पूर्वीय सभ्यता ई.पू. ३०००,लाई मानिए पनि विज्ञान र प्रविधिको क्षेत्रमा पश्चिमा मुलुक भन्दा चीन बाहेक धेरै पछि छ । पश्चिमा सभ्यता भन्नाले ग्रिक सभ्यता हो । जो लगभग ई.पू. ६००, तिर देखि सुरु भएको सभ्यता हो । जहाँ ग्रिक सभ्यता सँगसँगै भौतिक जगतलाई आधार मानी निर्माण गरिएको दर्शन नै प्राचीन ग्रिक दर्शन हो । पश्चिमा दर्शन प्राकृतिक र भौतिक दृष्टिकोणमा आधारित तार्किक धारबाट आरम्भ भयो । जस्ले विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो क्रान्ति भएको छ । तर पूर्वीय दर्शनलाई धार्मिक कानुन अनुसार निगमन विधिद्वारा अकाट्य बनाइएसँगै किराती दर्शनमा ठूलो वाधा पुग्यो ।
किराती दर्शन
दर्शनलाई किराती भाषामा मुन्धुम भनिन्छ । किरात सभ्यता खासगरी चीनको ह्वाङ्हो सभ्यतासँग सम्बन्धित छ । किराती दर्शन भारतीय दर्शन र अझै बढी चीनिया दर्शन सँगै संवन्धित छ । अत: किराती दर्शन बुझ्नलाई चीनिया र भारतीय दुवै दार्शनिक दृस्ठिकोणले पार्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको बारेमा बुझ्नु जरुरी हुन्छ नै । पूर्वीय दर्शनको गति, प्राचीन कालमा जति भयो, त्यसयता जहाँको त्यहीँ छ । प्राचीन चीनमा लाओत्सेको ताओवाद देखि आएर कन्फ्युसियसको कन्फ्युसियसवाद होस वा भारतमा कपिलको सांख्य दर्शन देखि माहावीरको जैन दर्शन सम्मकै कुरा किन नहोस, ती दर्शनले समाजलाई धर्ममा आधारित सामन्तवादी व्यवस्थाको बर्बरता बाहेक अरु केही दिएन ।
खासमा पुर्खाले छाडिगएको पुँजीको रुपमा आगोको आविष्कार, भष्मे-खोरियाको नयाँ संरचना, अन्नबाली, लत्ताकपडाको उत्पादन, संस्कृति जस्ता महत्त्वपूर्ण विषय प्रतिको नयाँ अवधारणाद्वारा युगको नेतृत्व गर्नु भनेको ठूलो विजय हो ।
यदि किरात सभ्यताको आधारमा किराती दर्शन क्रमशः बिकास हुन पाएको भए हाम्रो देश आज बिकास गतिको तुलनामा अमेरिका, चीन, स्वीट्जरल्यान्ड, क्यानाडा जस्ता समृद्ध मुलुकसँग प्रतिस्पर्धा गरिरहेको हुने थियो । करिब ई.पू. १७-१८ सय वर्ष हाराहारी देखि किराती पूर्खाले अन्नबाली, अल्लो, कपास र लत्ताकपडा आदिको कृषि खेती तथा घरेलु उत्पादन जस्तो मानवीय श्रमको कारण भौतिक जगत र मानव जीवनमा अकल्पनीय मात्रामा फेरबदल आएको मात्रै होइन, फिरन्ते युगलाई बिदाई गरि स्थाई बसोबासको संरचना सहित नयाँ युगमा फड्को मारेको थियो । जसले गर्दा मानव जीवनमा ठूलो क्रान्ति भयो ।
कालान्तरमा किराती वंशले माहाभारत पर्वतको उत्तरी पूर्वी भूभागमा बसोबास गर्न थालेसँगै त्यहाँ राज्यको स्थापना गरेका थिए । शताब्दीऔं पछि एक प्रभावशाली, राजकीय कौशलता सहितको यलम्बर नामका किरातीको उदय भयो । उसले पश्चिम तर्फ राज्य बिस्तार गर्दै त्रीसुली नदी सम्म सिमाना कायम गरि “यलाखोम” अर्थात हालको काठमाडौ खाल्डो केन्द्रित राजधानी निर्माण गरेका थिए । क्रमशः किराती नेतृत्वद्वारा कुशलता पूर्वक राज्यसत्ता सञ्चालन कै क्रममा लिच्छवि जातिद्वारा पराजित भैइ पुनः पूर्वतर्फ फर्केका थिए । पृथ्वीनारायण शाहको आक्रमणको बेला पनि किराती पुर्खाहरुले वीरता पुर्वक प्रतिरोध युद्ध लडेका थिए ।
जसले किरात सभ्यताको अस्तित्व कायम राख्न सफल भए । तसर्थ किराती इतिहास र दर्शन असामान्य परिस्थितिमा निर्माण हुन पुग्यो । खासमा पुर्खाले छाडिगएको पुँजीको रुपमा आगोको आविष्कार, भष्मे-खोरियाको नयाँ संरचना, अन्नबाली, लत्ताकपडाको उत्पादन, संस्कृति जस्ता महत्त्वपूर्ण विषय प्रतिको नयाँ अवधारणाद्वारा युगको नेतृत्व गर्नु भनेको ठूलो विजय हो । यसले हामीलाई के कुराको बोध हुन्छ भने किराती पुर्खाले आदिम कालमै कुशलता पुर्बक भौतिकवाद र द्वन्द्ववादको प्रयोग गरेका थिए ।