क्वाटी खाने कि डोरी बाँध्ने ?
रक्षाबन्धन तथा जनैपूर्णिमा सवैलाई थाहा भएकै पर्व हो । नेपालमा विशेषगरी हिन्दु धर्मावलम्वीहरुले यो पर्व मनाउँछन् । नाडीमा डोरी र शरीरमा नयाँ जनै फेर्नु यो पर्वको चलन हो । ब्राह्मण पुरोहितले मन्त्रोच्चारण गरी डोरी या जनै लगाएपछि मानिसको रक्षा हुनेमा हिन्दु धर्मावलम्बीहरु विश्वास गर्छन् । तर यो पर्व विगतमा जस्तो त्यति भव्य देखिदैन । किनकि पोहोरसम्म यो पर्वमा सरकारले देशभर सार्वजनिक विदा दिएपनि यो वर्ष दिएको छैन । यसबीच पनि केही प्रदेश सरकारले आफ्नो प्रदेशमा विदा तोक्ने कोसिस गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरु यो बन्धनको चलन सत्ययुगदेखि नै सुरु भएको मान्छन् । पौराणिक कथालाई आधार मान्ने हो भने सत्य युगमा दानवद्धारा देवगण लखेटिन्छन् रे । लखेटिएका देवगणको रक्षाका लागि उनका गुरु बृहस्पतिले रक्षा वन्धन तयार गरिदिन्छन् । यसरी देवगणलाई सुरक्षित गर्न र विचलित नगराउन तयारी डोरो गुरुद्धारा बाधिन्छ । त्यसैको सम्झनामा मानिसको रक्षा हुने विश्वासले हिन्दु धर्मावलम्वीले डोरी बाँधि आएका छन् ।
आज जनै फेर्नेहरुले हिजै कपाल मुण्डन गर्नुपर्छ । आज जनैसँगै क्वाटी पनि बनाई खाइन्छ । ११ थरीका गेडागुडी भिजाई टुसा उमारेपछि यो परिकार बनाईन्छ । क्वाटीले विभिन्न रोगसँग लड्ने तागत दिन्छ ।