“समृद्ध” नेपालको खोक्रो नारा ?
“जब सम्म पुँजीको सत्ता कायम रहन्छ, कुनै प्रकारको प्रजातान्त्रिक स्वतन्त्रताले श्रमिक जनता, स्वत: मुक्ति हुँदैनन्” – एङ्गेल्स
काठमाण्डौ । “समृद्ध” को नारा साम्राज्यवादमा आधारित पुँजीवादी मोडेल हो । अर्थात राज्य निरीह, ब्यक्ति सम्पन्न र शक्तिशाली रहने व्यवस्था हो । दोश्रो विश्वयुद्धको अन्त्यसँगै मध्य युगको अन्त्य भइ आधुनिक युगमा प्रवेश गरियो । आधुनिक युगमा, विश्वमा जे जत्ति सोभियतद्वारा स्थापित समाजवादको आधारमा साम्राज्यवादको पूर्णध्वंस र समाजवादमा आधारित पुँजीवादी ब्यवस्था स्थापना हुनुपर्ने थियो । जस्ले समकालीन विश्वमा राष्ट्रिय पुँजी निर्माणको बलियो आधार सम्भव थियो । तर ठिक बिपरित साम्राज्यवादको नेतृत्व अमेरिकाले हत्याउन सफल भयो । त्यसले केन्द्रित पुँजीवादद्वारा साम्राज्यवाद र सामन्तवादलाई नयाँ ढंगले नवीकरण गर्यो । यसर्थ फेरि विश्वमा साम्राज्यवादको नेतृत्व मात्रै परिवर्तन भयो । र सशक्त, अझै बर्बरता साथ अमेरिकाले पुँजीवादी सिन्डिकेट खडा गर्यो ।
पुँजीवादी ब्यवस्थाको विशेषता, निश्चित एउटा केन्द्रको निर्माण हो । जहाँ एउटा प्रमुख केन्द्र हुन्छ । त्यसले सबैलाई वाध्यात्मक परिस्थिति सृजना गरि आफुतिर खिच्ने र आफ्नो निति तथा कार्यक्रम लाद्नको निम्ति दलालहरु नियुक्त गर्दछ । केन्द्रको वरिपरि समान वर्ग-स्वार्थ मिल्नेहरुको घेराहरु हुन्छ्न ।
(केन्द्र) प्रथम घेरा :- उच्च कुलका उधोगपतिहरु,
दोस्रो घेरा :- मध्यम उधोगपतिहरु,
तेस्रो घेरा :– उच्च कुलका रहलपहल र अन्य कुल मध्येका उच्च कोटिका मानिनेहरु,
चौथो घेरा :- मध्यम वर्गका भुरेटाकुरेहरु,
पाँचौ घेरा :- हनुमान प्रवृत्ति वा भरौटे समूह यस्तो पाँच घेरापछि मात्र आम जनता हुने गर्दछ । तसर्थ यस व्यवस्थामा, केन्द्र र वास्तविक जनता बीच लामो दुरी हुने गर्दछ । त्यसैगरी बिकास निर्माणको क्षेत्रमा पनि तहगत भागबन्डाको व्यवस्था छँदैछ ।
मार्क्सको भाषामा “मात्र ब्यक्ति धनी हुँदा राज्य धनी हुँदैन, राज्य नै धनी भएको खण्डमा ब्यक्ति स्वत: धनी हुन्छ ।”
अहिले बजारमा “समृद्ध” भन्ने शब्द जो कोहीले पनि व्यक्त गर्न हिच्किचाउँदैनन । मानौँ, नेपालमा समृद्ध भन्ने एउटा यस्तो आकर्षक शब्द फेसनकै रुपमा भित्रीयो । जुन जनजिब्रोमा स्वादिष्ट साबित छ । किन कि नेपालमा यस्ता फजुली शब्दजालले उच्च स्थान पाउँदै आएको इतिहासमा हामी सामु छँदैछ । आखिरमा “समृद्ध” हो चाहिँ के ? त्यस्को आधार के हो ? कुन अवस्थालाई समृद्ध मान्ने हो ? लोकतान्त्रिक व्यवस्थामा समृद्ध भन्ने मुना कुन ठाउँबाट पलाउँछ ? एकाधिकार पुँजीकरणको माखेसाङ्लोमा बन्दी रहेको राष्ट्रिय पुँजीको हालत देखेरै पनि भन्न सकिन्छ कि यही अवस्थामा समृद्ध नेपाल निर्माणको नारा असम्भव मात्र होइन अनर्थ सिद्ध छ । नेपालमा राजनीति दलका नेतागणले भन्ने गरेका छन । कि अब तिब्र गतिमा बिकास निर्माण हुन्छ, जस्ले देशलाई समृद्ध बनाउछ ! तर त्यो कुरा सत्य छैन । बिकास निर्माण भनेकै समृद्धि हो भन्न थालियो भने हामी ठिक ठाउमा पुग्दैनौं । “बिकास निर्माण त समृद्धिको एउटा विशेष आधार मात्र हो । खासमा त्यो भौतिक संरचनाको फेरबदल हो ।” यदि भौतिक संरचनामा फेरबदल मात्रै गर्ने हो भने त, बम विस्फोट भएको ठाउमा पनि स्वरुप त फेरिएकै छ । तसर्थ एकतर्फी बिकास निर्माण मात्र समृद्ध होइन ।
समृद्ध :- समृद्ध भनेको जनताको आधारभूत आवश्यकताहरुमा समान अवसर प्राप्ति र समान हैसियत कायम गर्ने भनिएको हो । समाजवादी चरीत्रको क्रान्तिकारी व्यवस्था मात्रै यस्को आधार हो । जसले राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउछ, आम जनताले बेरोजगारी पिडा खेप्नु पर्दैन, पूर्णरूपले राज्य, जनता प्रति उत्तरदायी बन्छ, आर्थिक बिपन्नताको अन्त्य हुन्छ, राज्यद्वारा, जनताले प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधाहरु बिना सिन्डिकेट सहज ढंगले नजीकबाट उपभोग गर्न सक्ने अवस्था बन्छ, वा मार्क्सको भाषामा “मात्र ब्यक्ति धनी हुँदा राज्य धनी हुँदैन, राज्य नै धनी भएको खण्डमा ब्यक्ति स्वत: धनी हुन्छ ।” अर्थात अर्थतन्त्रको बागडोर राज्यको अधिनमा हुनुपर्दछ । त्यसतो अवस्थालाई मात्र समृद्धको अवस्था भन्न सकिन्छ । समृद्ध नेपाल तबमात्र हुन्छ, जब राज्यमा पुँजीको सत्ता खारेज हुन्छ । तर साम्राज्यवादी मोडेलको पुँजीवादले आम जनता समृद्ध भएको देख्न चाहँदैन । उसको दृष्टिकोणमा पनि समानता त हुन्छ नै तर उसले चाहेको समानता, यथास्थितिमा हो । आफू बाहेक जनतालाई सर्वोच्च ठान्दैन, उसको निम्ति, सिमित वर्ग चरित्र भएकाहरु बाहेक, सम्पूर्ण जनता सम्पन्न भएको अनिष्ट सिद्ध छ । नेपालमा राज्य गरिब, सिमित ब्यक्ति धनी छ्न । तिनीहरुले राज्य शक्तिशाली हुनु दिँदैनन् । तसर्थ नेपालमा वैज्ञानिक विधिमा आधारित राज्यको मार्गचित्र निश्चित नगरी एकोहोरो “समृद्ध” नेपाल निर्माणको नारा भ्रम मात्र हो ।